हिमाली क्षेत्रमा लामा समुदायको तोतङरी ल्होसार (तस्बिरमा)

मंसिर २९, २०८० |जनकबहादुर शाही
हिमाली क्षेत्रमा लामा समुदायको तोतङरी ल्होसार (तस्बिरमा)

हुम्ला । हिमाली क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५१ सुरु भएको छ । पौष कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरे पनि तोतङरी ल्होसार पौष शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

तोतङरी ल्होसार पर्वमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरिन्छ । यस्ता पर्वले नेपाली संस्कृति संरक्षण हुनुका साथै भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने हुम्लाका लामा समुदायका अगुवाहरुको भनाइ छ । ल्होसारको तेस्रो दिन शुक्रबार हुम्लामा बस्ने सबै लामा समुदायका मानिस सिमकोटमा रहेको लामा सांस्कृति मञ्चमा जम्मा भएर पूजा गरी लिंगो ठड्याउने (लामा भाषामा लेखिएका ध्वजापतका लगाएको काठ गाड्ने) आ-आफ्नो सांस्कृति तथा रितिरिवाजअनुसार बाजागाजा र झाँकीसहित गीत गाउँदै नाच्ने गरिन्छ ।

ल्होतर पात्रोअनुसार पौष शुक्ल प्रतिपदा बिहीबारदेखि खरायो वर्ष पूरा गरी ड्रागन (धेउ) वर्ष प्रवेश हुन्छ । हरेक वर्ष पौष शुक्ल प्रतिपदाबाट विभिन्न कार्यक्रम गरी तोतङरी ल्होसार पर्व मनाइन्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने पूर्व सोलुखुम्बुदेखि तिब्बतको डिघर्चीसम्मका लामा भोटे र व्यासी समुदायले यो पर्व मनाउने गरेको लामा सांस्कृति मञ्च हुम्लाका अध्यक्ष धर्मानन्द लामाले जनाए । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिनदेखि मनाइने चाड लामा र व्यासी जातिको मुख्य पर्व हो । यो पर्व वसन्त पञ्चमीसम्म मनाइने उनले जनाए ।

ल्होसारका १२ वटा वर्ष मुसा, हात्ती, बाघ, खरायो, ड्रागन (धेउ), सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा तोतङरी ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले लामा र व्यासी समुदाय प्रकृतिपूजक रहेको पनि बताइन्छ ।

अन्य (सोनाम, तमु र ग्याल्बु) ल्होसारमा सरकारले सार्वजनिक बिदा दिने गरे पनि तोतङरी ल्होसारमा सार्वजनिक बिदा नदिई आफूहरुलाई सरकारले विभेद गरेको लामा र व्यासी समुदायका अगुवाहरु गुनासो गर्छन् । तोतङरी ल्होसारका अवसरमा सरकारले विभेद गरे पनि अब कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा माग सम्बोधन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

तोतङरी ल्होसार तथा लामा र व्यासी समुदायको नयाँ वर्षका अवसरमा कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना सन्देश दिँदै कर्णालीवासीसँगै सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुता कायम गरी समृद्ध कर्णाली निर्माणमा सबैलाई प्रेरणा मिलोस भनेर कामना गरेका छन् ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।