हुम्लाका कांग्रेस उपसभापति रोकायाको घरमा आगलागी हुँदा लाखौँको क्षति

मंसिर २६, २०८० |जनकबहादुर शाही
हुम्लाका कांग्रेस उपसभापति रोकायाको घरमा आगलागी हुँदा लाखौँको क्षति

हुम्ला । हुम्ला सदरमुकाम सिमकोट बजारमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । सिमकोट गाउँपालिका- ५ सिमकोट बजार नेपाल विद्युत् वितरण केन्द्रको कार्यालय नजिकै रहेको नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको हो ।

मंगलबार बिहान ९ बजेर ४० मिनेटमा घरको दोस्रो तल्लामा रहेको भान्सामा जडान गरिएको सुधारिएको फलामे चुल्होमा बालिएको आगो चुलोको पाइपबाट दोस्रो तल्लाको छतमा रहेको काठको सिलिङमा भेटाएपछि आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट चार लाख रुपैयाँ नगदसहित लत्ताकपडा, गरगहना, फर्निचर, प्रिन्टर, लिउ-फेरुवा र गलैँचालगायत लाखौँ मूल्य बारबारको सामान जलेर नष्ट भएको हुम्ला प्रहरी प्रमुख डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

आगलागी भएको ३ घण्टा पछि स्थानीय बासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र कर्मचारी सबैको सहयोगमा आगो नियन्त्रणमा लिएको लिएका हुन् । 

मंगबार बिहान अचानक भएको आगलागीमा उपसभापति रोकयाको ३ तले घरको माथिल्लो तला पूर्ण रूपमा नष्ट हुनुका साथै लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।