हुम्लामा यो वर्षकै पहिलो हिमपात (फोटो फिचर)

मंसिर १८, २०८० |जनकबहादुर शाही
हुम्लामा यो वर्षकै पहिलो हिमपात (फोटो फिचर)

हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो ।

गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामै हिमपात भएको छ । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनो कुमार पोखरेलले बताए ।

हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिकाको लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ । बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू सोमबार हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए । हिउँदे वर्षा र हिमपातले खेतीपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले पछि राम्रो गर्ने उनले बताए ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।