सुनसरीमा हुन लागेको इज्तेमा स्थगित

मंसिर ३, २०८० |अर्जुन सुवेदी
सुनसरीमा हुन लागेको इज्तेमा स्थगित

सुनसरी । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुस्लिम अगुवाहरु सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् ।

दुहबी र इटहरीमा हुन लागेको इज्तेमा देशको विषम् परिस्थिति मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको मुस्लिम अगुवाहरुले जनाएका छन् । मुलुकको कानुन र सरकारको निर्णयको कदर गर्दै तत्कालका लागि इज्तेमा कार्यक्रम स्थगन गर्ने सहमति जुटाइएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

सरकारले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै तत्काललाई कार्यक्रम नगर्नु/नगराउनु भनेकाले सोहीअनुरुप आफूहरु कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेको कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले जानकारी दिए । देशको वर्तमान परिस्थिति र घटनाक्रमले शान्ति सुरक्षामा चुनौती देखिएकाले मुस्लिम अगुवाहरुको भेलाले इज्तेमाका सबै कार्यक्रम तत्काललाई स्थगन गर्ने निर्णय उनीहरुको भनाइ छ ।

मुस्लिम अगुवाहरु गफार अन्सारी, ऐयुब अन्सारी, हाजी अब्दुल, अलाउद्दिन मिया, मेहदी हुसेन लगायतकाले सरकारी निर्णय स्वीकार्दै तत्काललाई कार्यक्रम स्थगन गरिएको जनाएका छन् । सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्मसभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम गर्न अनुमति दिएको थिएन ।

गृहको पत्रका आधारमा जिल्ला प्रशासन कार्यलय सुनसरीले स्थानीय तह र आयोजकलाई कार्यक्रम सञ्चालनको इजाजत नरहेको बेहोराको पत्राचार गरेको थियो । गृहको पत्रका आधारमा सुनसरी प्रशासनले कार्यक्रम इजाजत दिन नसकिने जनाएपछि आयोजकले कार्यक्रम छोट्याएर परिधिमा रही इज्तेमा सञ्चालनको पहल सुरु गरेका थिए ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर छलफलसमेत गरेका थिए । उक्त छलफलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले स्वीकृति दिन नसकिने दोहोर्याएपछि आयोजक पक्ष तत्काललाई कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेको हो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।