पर्यटन प्रवर्द्धन गर्न कांग्रेस हुम्लाको बैठक खार्पुनाथ मन्दिरमा

मंसिर ३, २०८० |जनकबहादुर शाही
पर्यटन प्रवर्द्धन गर्न कांग्रेस हुम्लाको बैठक खार्पुनाथ मन्दिरमा

हुम्ला । जिल्लाको पर्यटन प्रवर्द्धन र विकास गर्न कांग्रेस हुम्लाको बैठक खार्पुनाथ मन्दिरमा सम्पन्न भएको छ ।

कांग्रेस जिल्लाको एक जिम्मेवार राजनीतिक पार्टी भएको हुँदा हुम्लाको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग होस् भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति, हुम्लाको बैठक खार्पुनाथ गाउँपालिका– ५ खार्पुको शिव मन्दिर परिसरमा सम्पन्न भएको हो ।

पवित्र धार्मिक तीर्थस्थल खार्पुनाथको ऐतिहासिक र पर्यटकीय महत्वको प्रवर्द्धन गर्न कांग्रेसले बैठक सो स्थानमा राखेको कांग्रेस कार्यबाहक सभापति कैलाश भण्डारीले बताए । खार्पुनाथ शिव मन्दिरको महत्व महाभारत कालसँग जोडिएकाले यसको प्रवर्द्धन, प्रचार प्रसार र विकासका लागि कांग्रेस बैठक खार्पुनाथ मन्दिर क्षेत्रमा राखिएको उनले बताए ।

कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले शिवालय क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने पक्षमा गाउँपालिका लागेको र शिवालय क्षेत्रको विकासका लागि हाल विभिन्न पूर्वाधार विकासका काम भइरहेको जानकारी दिए । तर पर्यटन मन्त्रालयबाट आउनुपर्ने बजेट नआएकाले जुन रफ्तारमा काम हुन पर्ने हो त्यो हुन नसकेकाले यसको प्रचारप्रसारमासमेत समस्या भएको अध्यक्ष रावलको भनाइ छ ।

बैठक तीन घण्टासम्म सञ्चालन भएको थियो। जिल्ला कार्यसमिति हुम्लाको आयोजना र कांग्रेस खार्पुनाथ गाउँपालिकाको व्यवस्थापनमा पहिलो पटक जिल्ला सदरमुकाम बाहिर कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेको हो । सो बैठकले खार्पुनाथ शिवालय क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि पार्टी लाग्ने निर्णय गरेको छ । कार्यक्रममा कांग्रेस ख नम्बर प्रदेशका सभापति भरतजंग शाही, खार्पुनाथ - ४ नम्बर वडाकी वडाध्यक्ष रंगमति शाहीलगायत सहभागी थिए ।

पवित्र धार्मिकस्थल भएका कारण कांग्रेस हुम्लाले पहिलो पटक सदरमुकाम सिमकोट बाहिर जिल्ला कार्यसमितिको बैठक उक्त स्थानमा राखेको हो । यो सुरुवात हो अब जिल्लाको पर्यटन प्रवर्द्धन र विकाससंगै विभिन्न क्षेत्रमा रहेका पर्यटकीयस्थल, धार्मिक तीर्थस्थलको प्रचार प्रसारका लागि सो क्षेत्रमा गएर कांग्रेसले जिल्ला कार्यसमितिको बैठक गर्ने कांग्रेस हुम्लाका कावा सभापति भण्डारीले बताए ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।