शक्ति राष्ट्रहरुको नियति खुम्बुले भोग्दै छ : महासचिव गुटेरेस

कार्तिक १३, २०८० |भानुभक्त निरौला
शक्ति राष्ट्रहरुको नियति खुम्बुले भोग्दै छ : महासचिव गुटेरेस

सोलुखुम्बु । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शक्ति राष्ट्रहरुको नियतिको असर हिमाली क्षेत्रले भोगिरहेको भन्दै चिन्ता जनाएका छन् ।

उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा आज सोलुखुम्बुको खुम्जुङ पुगेका उनले ठूला शक्ति राष्ट्रहरुले वातावरणलाई ख्याल गर्दा आज जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको बताए । असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको उनको भनाइ छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका ४, खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकासशील राष्ट्रहरुले भोग्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेका उनको भनाइ छ । हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

साथै सगरमाथाको फोहोर सफा गर्ने विषय नेपालका लागि निकै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीय बासिन्दाले संयुक्त राष्ट्रसंघसँग आग्रहसमेत गरेका छन् । जवाफमा महासचिव गुटेरेसले सबै एक ठाउँमा उभिएर संकटमोचन गर्नुको विकल्प नरहेको जनाए ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।