पासाङ ल्हामुले सगरमाथामा चढेको ३० वर्षपछि श्रीमान् ल्हाक्पा सोनाम पनि चुचुरोमा

जेष्ठ ३, २०८० |भानुभक्त निरौला
पासाङ ल्हामुले सगरमाथामा चढेको ३० वर्षपछि श्रीमान् ल्हाक्पा सोनाम पनि चुचुरोमा
तस्बिर

सोलुखुम्बु । पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरोमा पाइला टेकेको यती समुहका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यसअघि उनकी श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने ल्हाक्पा सोनामको प्रयास सफल हुन सकेको थिएन । उनी क्याम्प - २ बाटै फर्केका थिए । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको बाटोमै निधन भएको थियो । श्रीमती पासाङल्हामुले सगरमाथाको सफल आरोहण गरेको ३० वर्षपछि ल्हाक्पा सोनाम सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न यसपटक इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।