कान्तिपुर सरोकार : के हो एन्फा र क्लबहरूबीचको विवाद ?

जेष्ठ २३, २०८० |विकास थपलिया
कान्तिपुर सरोकार : के हो एन्फा र क्लबहरूबीचको विवाद ?

काठमाडौं । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाका विवाद अब कुनै नौलो विषय रहेन ।

कहिले पदाधिकारीबीचको मनमुटाब त कहिले क्लबसँगको विवाद । एन्फाभित्रका गुट, उपगुटबीचको विवादले मुलुककै फुटबल प्रभावित भएको छ ।

पछिल्लो समयमा त एन्फा र ए डिभिजन क्लबबीचको विवाद मैदानमै देखियो । एन्फाले अन्याय गरेको भन्दै क्लबहरूले लिगका दौरान खेलाडीलाई कालोपट्टी नै बाँध्न लगाएका छन् ।

लिगको तयारी खर्च, म्याच मनी, प्लेयर अफ दी म्याच लगायत खेलाडीले पाउने पुरस्कार नदिएको क्लबहरुको गुनासो छ । अर्कोतर्फ ब्यस्त तालिकामा लिग खेल्नुपरेको भन्दै खेलाडी पनि असन्तुष्ट छन् ।

लिगको अव्यवहारिक तालिकाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण नै प्रभावित भएको छ । जसले गर्दा असार ६ गतेदेखि हुने साफ च्याम्पियनसिपको तयारीमा पनि असर परेको छ ।

आर्थिक अपारदर्शिता, गुट-उपगुट, मतभेद, राजनीतिक हस्तक्षेप, नातावाद-कृपावाद जस्ता विषय एन्फाका पर्यायवाची बनेका छन् । आर्थिक संकटका नाममा क्लब र खेलाडीलाई दिने भनिएको रकम नदिएर निकट पदाधिकारी र कर्मचारीको भने सेवा-सुविधा वृद्धि गरेका अध्यक्ष पंकजविक्रम नेम्वाङ कार्यसमितिभित्रै विवादमा फसेका छन् ।

एन्फा त विवादमा तानियो नै, क्लबहरू पनि व्यावसायिक बन्न नसक्दा त्यसको मारमा खेलाडी परिरहेका छन् ।

एन्फा र क्लबबीचको विवाद के हो ? साफ च्याम्पियनसिपका लागि समेत राष्ट्रिय खेलाडीहरू किन गरिएन रिलिज ? अघिल्लो साफमा फाइनलसम्म पुगेको नेपालको यस पटकको तयारी के ? राष्ट्रिय खेलाडी किन विदेश भासिँदै छन् ? सरोकारको यो अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।