भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज पहिलो चरणको मतदान जारी

२१ राज्यमा १ सय २ सीटका लागि १ हजार ६ सय २५ उम्मेदवार मैदानमा
वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज पहिलो चरणको मतदान जारी

काठमाडौं । विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको लोकतान्त्रिक देश भारतमा लोकसभा निर्वाचनका लागि मतदान जारी छ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा चुनाव तय भएकोमा आज पहिलो चरणको मतदान भइरहेको हो ।

मतदान आगामी १ जुनसम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ । आज पहिलो चरणमा २१ राज्यको १ सय २ सिटका लागि मतदान भएको हो । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको ५ , पश्चिमबंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २ , मणिपुरको २, महाराष्ट्रको  ५, र तमिलनाडुको ३९ सिटमा मतदान हुँदै छ । 

यस्तै  छत्तीसगढ, मिजोरम, नागालैंड, सिक्किम, त्रिपुरा, जम्मु कश्मीर, अण्डमान निकोबार टापु, लक्षदि्वप, र पुडुचेरीका एक-एक सिटमा मतदान भइरहेको छ । आज मतदान हुने १०२ सीटका लागि १हजार ६सय २५ उम्मेदवार मैदानमा छन् । लोकसभा निर्वाचनसँगै चार राज्यहरू आन्ध्रप्रदेश, ओडिसा, सिक्किम र अरुणाचल प्रदेशमा विधानसभा निर्वाचनका लागि समेत मतदान भइरहेको छ ।

करिब एक अर्ब ४४ करोड  जनसङ्ख्या रहेको भारतमा करिब ९७ करोड मतदाता रहेका छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष मतदाता र ४७ करोड १० लाख महिला मतदाता रहेको जनाइएको छ । 

मतदानका लागि देशभर करिब १५ लाख मतदान स्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मशिन "इभीएम"बाट गरिनेछ भने यसकालागि ५५ लाख इभीएमको व्यवस्था गरिएको छ । वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भारतको प्रत्येक कुनासम्म लोकतन्त्रलाई पुर्‍याइने भन्दै मतदान गर्नबाट कुना कन्दराका मानिस नछुटुन् भन्ने व्यवस्था मिलाइने दृढता व्यक्त गरेका छन् । 

मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी करिब डेढ करोड जनशक्ति खटाइने आयोगले जनाएको छ । 

५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट जित्नु आवश्यक छ । यो निर्वाचन मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् भने विपक्षी कांग्रेस र उसको गठबन्धन मोदीलाई रोक्न जोडतोडले लागि रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement