मुटु रोगसम्बन्धी सेवा विकेन्द्रीकरण गर्न आवश्यक छ : स्वास्थ्य राज्यमन्त्री

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
मुटु रोगसम्बन्धी सेवा विकेन्द्रीकरण गर्न आवश्यक छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोगसम्बन्धीका सेवा विकेन्द्रीकरण गर्न आवश्यक रहेको जनाएकी छन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सवमा उनले अस्पतालका सेवा प्रादेशिक स्तरमा पुर्‍याउनु आवश्यक देखिएको उनको भनाइ छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटका रुपमा स्थापना सरकारले पहल गर्ने राज्यमन्त्री कार्कीको धारणा छ । उनले १५ वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकका हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् ।

‘अब गंगालाल अस्पतालका मुटु रोगसम्बन्धीका सेवा विकेन्द्रीकरण गरेर प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौं,’ उनले भनिन्, ‘१५ वर्षमुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभूत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’

स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने प्रतिबद्धता जनाइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.