कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई (भिडियो रिपोर्ट)

माघ ९, २०७९ |नारायण किलम्बू
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई (भिडियो रिपोर्ट)

काठमाडौं । सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिएको छ । आगामी शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयको दाबी छ । तर, शिक्षाको प्रतिबद्धताप्रति सांसदहरुले भने आशंका गरेका छन् ।

देशभरका २६ हजार ४ सय ५४ सामुदायिक विद्यालयका ५४ लाख विद्यार्थीका लागि दुई करोड २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । पुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाउँदै आएको थियो । तर, विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या बर्सेनि दोहोरिएपछि सरकारले यसपालि कक्षा १ देखि ५ सम्मको पुस्तक छपाइ र बिक्रीको जिम्मा निजी क्षेत्रलाई सुम्पिएको छ । अब निजी क्षेत्रले २५ लाख ९१ हजार विद्यार्थीका लागि एक करोड २० लाख थान पुस्तक छाप्नुपर्नेछ । त्यसका लागि एक अर्ब २० करोड रुपैयाँको काम निजी क्षेत्रले पाएको शिक्षामन्त्री शिशिर खनालले जानकारी दिए ।

त्यसो त जनक शिक्षाले छिटो पुस्तक छाप्न तीनवटा अत्याधुनिक मेसिन खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । ६ देखि १० कक्षासम्मका २२ लाख ३० हजार विद्यार्थीका लागि एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षाले अहिलेसम्म ५० लाख पुस्तक छापिसकेको र यो वर्ष पुस्तक अभाव नहुने जनक शिक्षाका महाप्रबन्धक अनिल झाले दाबी गरेका छन् ।

‘विद्यार्थीका हातमा पुस्तक पुर्याउन बहाना नबनाइयोस्’

छोटो समयमा मतपत्र छापेर गाउँ-गाउँ पुर्‍याउन सक्ने सरकारले लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको पाठ्युपस्तक समयमै पुर्‍याउन नसकेको भन्दै आलोचना हुँदै आएको छ । संघीय संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा पनि सांसदहरुले समयमै पाठ्यपुस्तक पुर्‍याउने शिक्षा मन्त्रालयको प्रतिबद्धताप्रति आशंका गरेका छन् ।

शैक्षिक सत्र सुरु हुनअगावै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्ने हो भनेमात्र सरकारको यो निर्णय सही ठहरिनेछ । अन्यथा सरकारमातहतकै निकायको काम खोसेर निजी क्षेत्रलाई फाइदा पुर्‍याएको आरोप आउनसक्नेतर्फ शिक्षाको नेतृत्व सचेत हुनैपर्छ ।

यो पनि...

आउँदो शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक नपाइने संकेत


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement