श्रम बजारमा भित्रने वार्षिक ५ लाख युवामध्ये १ लाखलाई मात्रै रोजगारी

वैशाख २, २०८१ |सुमन पन्थ
श्रम बजारमा भित्रने वार्षिक ५ लाख युवामध्ये १ लाखलाई मात्रै रोजगारी

काठमाडौं । नयाँ वर्ष २०८१ मा सकेसम्म बढी रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने छ । नेपाली श्रम बजारमा वार्षिक ५ लाखभन्दा बढी युवा प्रवेश गर्छन् । यीमध्ये करिब एक लाखले रोजगारी पाउँछन् । बाँकी विदेश जान वा नेपालमा जस्तोसुकै श्रम गर्न बाध्य छन् । यस कारण यो समस्यालाई सम्बोधन गर्न बढीभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्नेछ । नेपालमै थप रोजगारी सिर्जनाका प्रशस्त सम्भावना छन् । ठूला पूर्वाधार निर्माणलाई तीव्रता, सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता, अन्तर्राष्ट्रिय बजारमा माग भएका वस्तुको उत्पादन वृद्धि र उचित तालिमको अवसरमार्फत पलायन भइरहेको जनशक्ति रोक्न सकिन्छ ।

सन् २०२१ मा नेपालबाट करिब ३ खर्ब रेमिट्यान्स भारततर्फ गयो । निर्माण व्यवसायी महासंघकाअनुसार स्वदेशमा चलिरहेका परियोजना तथा उद्योग भारतीय दक्ष प्राविधिकका भरमा चलेका छन् । इँटा, जुट, धागो, सिमेन्टलगायत कारखाना र निर्माण क्षेत्रमा धेरै श्रमिक भारतीय छन् । नेपाली श्रमिकलाई पनि रोजगारमुखी तालिम दिन सके भारतीय श्रमिकमा रहेको परनिर्भरता कम हुने र नेपाली जनशक्तिको विदेश पलायन रोक्न सकिन्छ ।

यतिमात्र होइन तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर पनि रोजगारी सिर्जना गर्न सकिने पर्याप्त सम्भावना छन् । देशका ४२ जिल्लामा अराविका कफीको सम्भावना छ । विदेशमा हजारौ मेटि्रक टन माग रहे पनि उत्पादन ४ सय टनमा सीमित छ । त्यस्तै अदुवा अलैंची, बेसार तथा जडीबुटीको अन्तर्राष्ट्रिय बजार राम्रो छ । रैथाने वस्तुको ब्रान्डिङ गर्न सक्ने हो भने धेरैभन्दा धेरै लाभ लिन सकिने अर्थशास्त्रीहरु बताउँछन् । यसले प्रशस्त रोजगारी श्रृजना हुनेछ ।

अहिले देशको व्यापार घाटा १७ खर्बभन्दा बढी छ । दैनिक चार अर्वभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेको छ । वैदेशिक रोजगारीबाट सिप लिएर फर्किएका युवालाई व्यावसायिक कृषिमा लगाउने हो भने करिब ३ खर्ब बचत गर्ने सकिने प्रशस्त आधारहरु छन् । विश्वबजारमा विश्वास कमाएका कार्पेट तथा हस्तकलाका सामानको निर्यात बढाएर वैदेशिक मुद्रा आर्जन सकिन्छ । तुलनात्मक लाभ भएका वस्तुको बढीभन्दा बढी निर्यात गर्ने सके रोजगारीको परनिर्भरता स्वतः कम हुने देखिन्छ ।

यसबाहेक विश्वबजारमै सूचना प्रविधिका दक्ष जनशक्तिको माग छ । यस्ता जनशक्ति उत्पादनमा केन्द्रित हुँदै सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखिए थप रोजगारी सिर्जना हुन्छ । नयाँ वर्षमा रोजगारी श्रृजनामा सरकारको योजना कस्तो छ त ?

लगानी सम्मेलनबाट बढीभन्दा बढी रोजगारी श्रृजना गर्ने लगानीलाई आकर्षित गर्न सकियो र साना साना स्वदेशी पुँजी र श्रममारर्फत धेरैभन्दा धेरै स-साना समूहमा स्वरोजगार अभिवृद्धि गर्न सकियो भने नयाँ वर्ष २०८१ मा रोजगारीको क्षेत्रमा आशातित फड्को मार्न सकिने छ । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।