झापामा सौर्य ऊर्जामार्फत १० मेगावाट केन्द्रीय प्रसारण लाइनमा जोडियो

माघ २४, २०८० |रमा दाहाल
झापामा सौर्य ऊर्जामार्फत १० मेगावाट केन्द्रीय प्रसारण लाइनमा जोडियो

झापा । पछिल्लो एक दशकयता नेपालले विद्युत् उत्पादनमा फड्को मारेको छ । स्वदेशी तथा विदेशी लगानीका जलविद्युत् आयोजनाको उत्पादनले नेपाललाई वर्षात्‌मा बिजुलीमा आत्मनिर्भर मात्रै बनाएको छैन, बिजुली भारतमा निर्यात गरेर विदेशी मुद्रा कमाउने आधारसमेत तय गरेको छ ।

ऊर्जामा लगानी गर्ने होडका बीच झापामा सौर्य ऊर्जामार्फत १० मेगावाट बिजुली उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । परियोजनाको मंगलबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् । 

झापाको शिवसताक्षी नगरपालिका ४ मा पर्ने सालमाराको २१ बिघामा बिछ्याइएको सोलार प्यानलबाट १० मेघावाट विद्युत् उत्पादन हुन थालेको छ । नौ सयजना निजी लगानीकर्ताका साथै बैंकको ऋणसमेत गरी करिब ८५ करोड रुपैयाँमा यो आयोजना निर्माण भएको झापा इनर्जी प्रालिका निर्देशक नारायणप्रसाद पोखरेलले जनाए ।

यहाँ उत्पादित बिजुली नजिकैको बुलुचोक सब-स्टेसनमार्फत विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षमै पूरा भएको यो सौर्यऊर्जा परियोजनाबाट सुक्खा मौसममा पनि १० मेघावाट विद्युत् उत्पादन हुने झापा इनर्जी प्रालिका प्राविधिक अभिषेक पराजुलीको दाबी छ ।

जलविद्युत् आयोजनाभन्दा सस्तो र छोटो समयमै उत्पादन लिन सकिने भए पनि अस्पष्ट सरकारी नीतिका कारण सौर्य ऊर्जाप्रति लगानीकर्ता आकर्षित हुन नसकेको झापा इनर्जी प्रालिका अध्यक्ष एलपी सावाँ लिम्बूको गुनासो छ ।

सोलार प्यानलबाट बिजुली उत्पादन गर्ने यो आयोजनाले नदी र खोला मात्र होइन, तराईका घमाइला फाँटमा पनि बिजुली उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।