सनपाटको खेती घटेपछि जुट मिललाई कच्चा पदार्थ अभाव

डेढ दशकमा सुनसरी-मोरङ औद्योगिक कोरिडोरका ६ उद्योग बन्द
माग धान्न भारतबाट थोत्रा बोरा आयात
माघ ७, २०८० |सुशीला पाठक|महाप्रसाद खतिवडा
सनपाटको खेती घटेपछि जुट मिललाई कच्चा पदार्थ अभाव

विराटनगर । डेढ दशकअघिसम्म सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ११ वटा जुट मिल सञ्चालनमा थिए । तर, यो अवधिमा आधा दर्जन मिल बन्द भए । ६ वटा मिल बन्द भएर पाँच वटा बाँकी रहेको अवस्थामा एउटा नयाँ जुट मिल थपिएको छ । आर्थिक मन्दीको अवस्थामा खोलिएको नयाँ जुट मिलले अझै जुटमा प्रशस्त सम्भावना छ भन्ने सन्देश दिएको छ । 

डेढ दशक अघिसम्म सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ११ वटा जुट मिल सञ्चालित थिए । जसमा २५ हजार भन्दा बढीले रोजगारी पाएका थिए । तर डेढ दशकको अवधिमा आधा दर्जन जुट मिल बन्द भए । माओवादी द्वन्द्व, मजदुर समस्या, जुट मिल संरक्षण गर्ने सरकारी नीतिको अभाव तथा उद्योग व्यवस्थापन क्षमताको कमीका कारण आधा दर्जन उद्योग बन्द भएको जुट उद्योग संघको भनाइ छ । 

जुट उद्योग बन्द हुने क्रममा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल २०६६ सालमा बन्द भएको थियो । यो उद्योग बन्द हुँदा प्रत्यक्ष रूपमा आठ हजारभन्दा बढीले रोजगारी गुमाए । जुट मिल बन्द गर्ने लहर चलेको समयमा विराटनगरका अमित जैनले नयाँ जुट मिल खोलेका हुन् । केही वर्ष अघि बन्द भएको मोरङको कटहरीमा रहेको सीएम जुट मिलको संरचनामा श्री पशुपतिनाथ जुट मिल सञ्चालन गर्न लागिएको हो । 

भारतमा खाद्यान्न प्लास्टिकको बोरामा प्याक गर्न पाइँदैन । त्यसैले जुटका सामग्रीको मुख्य बजार भारत हो । नेपालमा उत्पादित करिब ९५ प्रतिशत जुटका वस्तु भारत निकासी हुन्छ । नेपाल सरकारले पनि वातावरणमैत्री नीति बनाएर खाद्यान्नका सामान प्लास्टिकमा प्याक गर्न नदिने हो र जुटका सामग्री प्रयोगलाई प्राथमिकता दिने नीति लिने हो भने जुट उद्योग फस्टाउने छ । 

मुलुकमा सञ्चालित ६ वटा उद्योगले ६५ हजार मेट्रिक टन कच्चा जुट खपत गर्दै आएका छन् । यी उद्योगलाई चाहिने ३० प्रतिशत कच्चा जुट स्वदेशमै उत्पादन हुन्छ भने बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ । सरकारले जुट उद्योग र जुट खेतीलाई प्रोत्साहन गर्ने नीति लिने हो भने रोजगारी सिर्जना हुनुका साथै किसान र मजदुरको आम्दानी बढाउन सकिने देखिन्छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।