उखु किसानको दु:ख- उधारोमा बेच्नु पर्ने बाध्यता, उत्साहभन्दा बढी निराशा

पुस ५, २०८० |राजेश्वर पाण्डे
उखु किसानको दु:ख- उधारोमा बेच्नु पर्ने बाध्यता, उत्साहभन्दा बढी निराशा

रौतहट । सरकारले सधैँ ढिलो गरी उखुको समर्थन मूल्य तोक्दा हरेक सिजन किसान उधारोमा उखु बेच्न बाध्य हुन्छन् । त्यसो त उधारोमा दिएको उखुको भुक्तानी पनि किसानले समयमै पाउँदैनन् । जसका कारण उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिलको शिलान्यास हुँदा उखु किसान जति हौसिएका थिए मिल नै बन्द भएपछि अहिले उखु खेती गर्नै छाडेका छन् ।

कुनै बेला उखु बोकेका ट्राक्टर र बैल गाडा दिनरात हिँड्ने यो बाटो अब सुनसान बन्दै गएको छ । २०४९ सालमा रौतहट जिल्लाको गरुडामा श्रीराम सुगर मिलको शिलान्यास हुँदा जिल्लाका अधिकांश किसान उखु लगाउन हर्षित थिए ।

बारा, पर्सा र रौतहटका किसानबाट सिजनमा ३० लाख क्विन्टलसम्म उखु लिएर क्रसिङ गर्ने लक्ष्यसहित २०५१ सालबाट मिल सञ्चालनमा आयो । तर घाटा र बाध्यात्मक परिस्थिति जनाउँदै मिल व्यवस्थापनले ०७७ साउन १० बाट चिनी मिल बन्द गर्ने निर्णय गरेसंगै उखु किसान निराश बने । पछिल्लो समय खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।

स्थानीय किसान भोजिन्द्र यादवले भने, ‘मिल सञ्चालन हुँदा हामीले उखु खेती सुरु गरेका थियौं । मिल बन्द भएपछि हामीलाई गाह्रो भएर अर्को खेतीतर्फ लाग्यौं । अहिले धान, गहु, लगायतका बालीको खेती गर्छौं ।’

रौतहटको कटहरियामा सञ्चालनमा रहेको बाबा बौजुनाथ सुगर मिलले गत वर्ष उखु अभावलाई कारण देखाउँदै समयअगावै क्रसिङ बन्द गरेको थियो । यसले पनि उखु किसान घटेको पुष्टि गर्छ । उखु उत्पादन घटेपछि छिमेकी जिल्ला बारा र सर्लाहीबाट उखु खरिद गर्न पहल थाले पनि नयाँ किसानलाई आकषिर्त गर्न समस्या भइरहेको मिल सञ्चालक बैजु बाबराको भनाइ छ ।

२६ वर्ष सञ्चालनमा रहेको श्रीराम सुगर मिल बन्द हुँदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ भने ३० लाख क्विन्टलसम्म उखु उत्पादन गर्ने करिब १५ हजार किसान अर्को खेतीतर्फ आकषिर्त भए । उखु उत्पादक संघ रौतहटको अगुवाइमा पछिल्लो समय मिल सञ्चालनका लागि पहल गर्न जिल्लाका किसान एकजुट भए पनि वार्ता सफल हुन नसकेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

अहिले रौतहटमा उखु खेती गर्ने करिब ५ हजार किसानले ८ लाख क्विन्टलसम्म उखु उत्पादन गर्छन् । तर सरकारले बर्सेनि समयमा मूल्य नतोक्दा उखु काट्न सक्दैनन् । सरकारी उदाशीनताको कारण किसान मर्कामा पर्दै आएका छन् । 


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।