कहाँ पुग्यो दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम ?

पुस ३, २०८० |चक्र भण्डारी
कहाँ पुग्यो दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम ?

दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरी परिमाण पत्ता लगाउन चिनियाँ र नेपाली भूगर्भ विज्ञको टोलीले चार वर्षदेखि अध्ययन गरिरहेको छ । यो टोलीले  त्यहाँका विभिन्न स्थानमा तीन पटकसम्म पेट्रोलियम अन्वेषण गरिसकेको छ । यसअघिका अन्वेषणले दैलेखमा पेट्रोलियम र प्राकृतिक ग्यास छ भन्ने प्रमाणित भएपछि परिमाणसमेत पत्ता लगाउन अन्तिम चरणको अन्वेषण हुन थालेको हो । 

दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणको काम सुरु भएको छ । लामो समयदेखिको जग्गा प्राप्तिको विवाद, सडक चौडा पार्ने काम, मुआब्जा वितरण, विद्युत् व्यवस्थापनलगायतका आधारभूत मुद्दा सुल्झिएसँगै रूख कटान र फिल्ड निर्माणको काम धमाधम भइरहेको हो । 

शिरस्थानदेखि पादुकालगायत दश ठाउँमा वर्षौँदेखि अखण्ड दीपका रूपमा अनवरत बलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ र नेपाली भूगर्भ विभागका प्राविधिकसहितको विज्ञ टोली ४ वर्षयता दैलेखमा छ । अन्वेषणका लागि अत्याधुनिक उपकरणले जमिनमुनि ४ किलोमिटरसम्म ड्रिलिङ गरेर यसको परिमाण पत्ता लगाउने काम जेठभित्र सक्ने लक्ष्य छ ।

पेट्रोलियम अन्वेषणका लागि जग्गाधनीहरूले समेत सहयोग गरेका छन् । स्थानीय स्तरमै पेट्रोलियम पदार्थ उत्पादन भए यस क्षेत्रको मात्रै नभई दशकै विकासमा ठूलो सहयोग पुग्ने विश्वासमा स्थानीय छन् ।

आफ्नो कारणले पेट्रोलियम पदार्थको अन्वेषण नरोकियोस् भन्ने मनन गरेका यहाँका स्थानीयले आफ्नो थातथलो सरकारलाई दिएका छन् । २८ घरको ४५ रोपनी जग्गा प्राप्तीपछि काम धमाधम भइरहेको छ । चीनबाट ल्याउने जमिनमुनि ड्रिलिङ गर्ने उपकरण अन्वेषण क्षेत्रसम्म ल्याइपुर्‍याउन यहाँको सडक चौडा पार्ने कामसमेत भइरहेको छ ।

निरन्तर बलिरहेको ज्वालालाई यहाँका समुदायले धार्मिक आस्थाका रूपमा समेत पुज्ने गरेका छन् । पेट्रोलियम पदार्थ खरिद गर्न राज्यको अर्बौँ रकम बिदेसिइरहेका बेला सरकारले स्वदेशी प्राकृतिक भण्डार उत्खनन गर्न सके देश विकास र रोजगारी सिर्जनामा कायापलट हुने देखिन्छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।