८ अर्बमा बन्यो ४० मेगावाट अपर चमेलिया

श्रावण ८, २०८० |मनोज बडू
८ अर्बमा बन्यो ४० मेगावाट अपर चमेलिया

दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरिएको छ । अपी हाइड्रोपावर कम्पनी लिमिटेडले ४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण पूरा गरी सोमबार उद्घाटन गरेको हो ।

मार्मा गाउँपालिका १, किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका २, घट्टीगाडमा रहेको विद्युत्‌ गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटै टर्बाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण गरी आयोजनाको उद्घाटन गरिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले जनाए ।

एक कार्यक्रमबीच मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले आयोजनाको उद्घाटन गरेका हुन् । निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बलँचस्थित सबस्टेसनमा १३२ केभीका टावरमा जडान गरी आइतबार बेलुकाबाट उत्पादन सुरु गरिने निर्देशक न्यौपानेले बताए । उनका अनुसार ३० महिनामा करिब आठ अर्ब लागतमा आयोजना निर्माण पूरा भएको हो ।

योसँगै दार्चुलामा ३० मेगावाटको चमेलिया, ८ मेगावाटको नौगाड र ८.५ मेगावाटको अपर नौगाड जलविद्युत् आयोजना सञ्चालनमा छन् ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।