नेपाल र वेस्ट इन्डिज 'ए'बीचको चौथो टी-ट्वेन्टी खेल आज

प्रशिक्षक मोन्टीले विश्वकप केन्द्रित भएर बलियो टोली मैदान उतार्ने
नेपाललाई सिरिज बराबरी गर्ने अवसर
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र वेस्ट इन्डिज 'ए'बीचको चौथो टी-ट्वेन्टी खेल आज

काठमाडौं । नेपाल पुनरागमनको लक्ष्यसहित आज चौथो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिज 'ए'विरुद्ध मैदान उत्रदैछ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । पाहुना टोली वेस्ट इन्डिज 'ए' पाँच खेलको सिजिरमा २-१ ले अघि छ । नेपालले पहिलो खेलमा ४ विकेटको जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछिका दुई खेलमा भने घरेलु टोली पराजित भयो ।

रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज टोलीले नेपाललाई दोस्रो खेलमा १० र तेस्रोमा ७६ रनले पराजित गरेको थियो । नेपालका लागि आजको खेल सिरिजमा पुनरागमन गर्ने अवसरका रूपमा रहेको छ । अघिल्ला खेलहरुमा आइसीसी टी-ट्वेन्टी विश्वकपका लागि खेलाडी छनौट गर्नुपर्ने भएकाले मुख्य प्रशिक्षक मोन्टी देसाईले सुरुवाती 'प्लेइङ इलेभन'मा परिवर्तन गरेका थिए ।

नेपालले हिजो रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्ने टिम घोषणा गरिसकेको छ । त्यसैले अबको दुई खेललाई नेपालले विश्वकपको तयारीका रूपमा लिनेछ । त्यसैले बलियो टोली, वेस्ट इन्डिज 'ए'विरुद्ध उत्रनेछ । रोहितबाहेक अन्य ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न नसक्नुले टिमलाई चिन्तित बनाएको छ ।

विश्वकपअघि माथिल्लो क्रमका ब्याटरको प्रदर्शन सुधारको अपेक्षा गरिएको छ । वेस्ट इन्डिज 'ए' भने एक खेल अगावै सिरिजको उपाधि जित्न चाहन्छ । तेस्रो टी-ट्वेन्टीमा शतक बनाउदै जोनसन चाल्स पनि लयमा फर्किएका छन् । वेस्ट इन्डिजले भोलि विश्वकप खेल्ने टिम सार्वजनिक गर्दै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.