एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल छनोट भएन

प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा हङकङसँग ४ विकेटले पराजित
वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल छनोट भएन

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन असफल भएको छ । एसीसी प्रिमियर कपअन्तर्गत आज भएको तेस्रो स्थानको खेलमा पनि पराजित भएपछि नेपालका लागि इमर्जिङ टिम्सको ढोका बन्द भएको हो । नेपाललाई चार विकेटले हराएर हङकङ सो प्रतियोगिताका लागि छनोट भएको छ ।

अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो

नेपालको ओपनिङमा कुशल भुर्तेल र आसिफ सेख आएका थिए । आज पनि कुशल भुर्तेल शून्यमा आउट भए । उनी लगातार तेस्रो खेलमा शून्यमा आउट भएका हुन् । आसिफले पनि पाँच रन मात्र जोडे । तेस्रो नम्बरका सोमपाल कामी १२ र रोहित पौडेल २१ रनमा आउट भए । चार विकेट गुमाउँदा नेपालले ५० रन मात्र पूरा गरेको थियो ।

कमजोर सुरुवात गरेको नेपालले मध्यक्रममा पनि उस्तै प्रदर्शन गर्यो । कुशल मल्ल १३ रनमा आउट भए । २२ रन बनाएका सन्दीप जोरा र ६ रन बनाएका गुल्सन झा लगातार दुई बलमा रनआउट भए । आठौं नम्बरमा मैदान प्रवेश गरेका दीपेन्द्रले २९ बलमा ४४ रनको योगदान गरे । अन्तिम ओभरमा २० रन बनाएपछि नेपालले मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

हङकङका लागि आयुष शुक्लाले तीन विकेट लिए । अतिक इक्वाल, यासिम मुर्तजा र इहसान खानले समान एक-एक विकेट लिए ।

जवाफमा हङकङले तीन बल बाँकी रहँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका ओपनर यासिम मुर्तजा नौ रन बनाएर आउट भए । तेस्रो नम्बरमा निजाकत खान तीन रनमै आउट भए ।

बाबर हयात २६ र अजिज खान १२ रन बनाएर पभेलियन फर्किए । बाबरलाई दीपेन्द्रले कट एन्ड बोल्ड गरे । अन्तिममा नसरल्लाह राणाले ८ बलमा ११ रन जोड्दै हङकङलाई जितसम्म पुर्याएका हुन् । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने दीपेन्द्रले दुई खेलाडीलाई आउट गराए । जिसन अली रनआउट भए । आजको जितसँगै हङकङ इमर्जिङ टिम्स एसिया कपमा प्रवेश गर्यो ।

प्रिमियर कपको फाइनल खेलमा भोलि यूएईले ओमानको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement