२०२६ मा हुने २०औं एसियाडको तयारी सुरु

चैत्र ५, २०८० |प्रदीप लेखी
२०२६ मा हुने २०औं एसियाडको तयारी सुरु

काठमाडौं । सन् १९५१ मा भारतबाट सुरु भएको एसियाली खेलकुद १९औं संस्करणमा आइपुग्दासम्म नेपालले कहिल्यै स्वर्ण हात पार्न सकेन । हाङ्चोउमा करातेकी एरिका गुरुङले रजत जितिन् भने महिला कबड्डीले कास्य हात पार्‍यो । तर, नेपालले स्वर्णका लागि तयारी गरेको थिएन भन्ने कुरा अधिकांश खेलाडी पहिलो चरणबाटै बाहिरिएबाट प्रमाणित भयो ।

यसबाट पाठ सिक्दै ओलम्पियन दीपक विष्टलाई राष्ट्रिय टिम तयारी समितिको संयोजक बनाइयो । अहिले विष्टकै सल्लाहबमोजिम २०२६ मा हुने २०औं एसियाडको तयारी सुरु भएको छ ।

हाङ्चोउ एसियाडमा एक सय २६ पुरुष खेलाडी पदकविहीन हुँदा महिला खेलाडीले पदक दिलाए । महिला कबड्डीले पहिलो सहभागितामै कास्य दिलायो भने करातेकी एरिका गुरुङले रजत हात पारिन् । पुरुष क्रिकेट र भारोत्तोलनका विशालसिंह विष्टबाहेक अन्य खेल र खेलाडीको प्रदर्शन सम्झनलायक रहेन । सबै खेलाडीको प्रतिक्रिया थियो-लगानी अनुसारको प्रतिफल यस्तै हुन्छ । यसबाट पाठ सिक्दै खेलकुद परिषद्ले राष्ट्रिय टिम तयारी समितिको अगुवाईमा मार्सल आर्ट विधाका पाँच खेलका ५० खेलाडीलाई अहिलेदेखि नै प्रशिक्षण दिन थालेको तयारी समितिका संयोजक दीपक विष्टले जनाए ।

एसियाडमा सहभागिता जनाउनु ठूलो कुरा होइन । नतिजा प्राप्त गर्न परिषद्ले प्रशिक्षण र आर्थिक पाटोलाई सबल बनाउनुपर्छ । नयाँ बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइसकेको परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जनाए ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यति लामो प्रशिक्षण सुरु हुनु नेपाली खेल इतिहासकै सम्भवतः पहिलो घटना हो । अब यसको निरन्तरतासँगै म्याच एक्सपोजर दिन सके राम्रो परिणाम आउने कराते खेलाडी एरिका गुरुङको ठम्याइ छ ।

प्रशिक्षणमा भौतिक र शारीरिक मात्र नभएर मानसिक रुपमै तयार पार्न योगा, ध्यानजस्ता विषय समावेश गरिएको छ भने डाइटका लागि दैनिक तीन सय रुपैयाँका दरले भत्ताको व्यवस्था गरिएको छ । तर, बक्सिङमा भने ग्लोब्स, किट्सजस्ता सामान अभाव रहेको जुडोकी प्रशिक्षक देवु थापाले जनाइन् ।

प्रशिक्षणमा पाँच खेल मात्र सीमित गरिए पनि यसको दायरा विस्तार गर्न आवश्यक देखिएको छ, जसले अन्य विधाका खेलाडीलाई पनि न्याय होस् ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।