फुटबलको प्रगतिमा एन्फा नै वाधक !

फुटबलको घरेलु गतिविधि शून्य हुँदा खेलाडी पलायन तीव्र
फाल्गुन १४, २०८० |प्रदीप लेखी
फुटबलको प्रगतिमा एन्फा नै वाधक !

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले गत जेठको सहिद स्मारक ए डिभिजन लिगयता विवादित अन्डर सिक्सटिन लिगबाहेक कुनै पनि प्रतियोगिता गर्न सकेको छैन । व्यावसायिक खेल शून्यजस्तै छन् । एन्फाको गैरजिम्मेवारीका कारण खेलाडीको खेल तालिका त भद्रगोल बनेको छ नै, खेलाडी विदेश पलायनको सिलसिला पनि रोकिएको छैन । एन्फा भने रमिते बन्दै गैरव्यावसायिक प्रतियोगिता र बैठकमै रमाइरहेको छ ।

हिउँदका बेला नेपाली फुटबलमा निकै व्यस्त तालिका हुनुपर्ने हो । तर, अहिले एन्फा फुर्सदमा छ । गोल्डकप प्रतियोगिता भइरहेका छन्, जसलाई एन्फाले न सहयोग गर्छ, न नियमन । खेलाडीको क्षमता विकास र खेल्ने वातावरण बनाउन भूमिका खेल्नुपर्ने एन्फा गैरव्यावसायिक खेलमै रमिरहेको छ । आइतबार मात्रै पनि एन्फाको साधारणसभामा आएका पाहुनाका लागि जावलाखेल मैदानमा लाखौं खर्चेर प्रतियोगिता गरिएको थियो ।

नेपाली महिला खेलाडीले साउदी अरबमा भइरहेको वाफ च्याम्पियनसिपमा सानदार प्रदर्शन गरिरहे पनि महिला लिग नभएकै ३ वर्ष भइसक्यो । पुरुषतर्फ बी र सी डिभिजन लिग नभएको पनि दुई वर्षभन्दा बढी भइसक्यो । जेठमा गरिएको ए डिभिजन लिग अब कहिले हुन्छ, यकिन छैन । खेलाडीका लागि जीवन निर्वाह र देशमा टिक्ने वातावरण अहिलेको सबैभन्दा ठूलो प्रश्न बनेको छ । तर, देशमा फुटबलको प्रवर्द्धन र विकास गर्ने दायित्व भएको एन्फा भने गैरव्यावसायिक प्रतियोगिता र बैठककै लागि लाखौं खर्च गरिरहेको छ । पछिल्ला चार महिनाका तीन साधारणसभामा मात्रै एन्फाले १ करोड ३५ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

लामो समय लिग नहुँदा र जीवन निर्वाहमै समस्या भएपछि २ वर्षयता राष्ट्रिय टिम र बेञ्चका खेलाडी सबैजसो रोजगारीका लागि विदेशिएका छन् । आशीष लामा, विमल घर्तीमगर, विशाल राई, सरोज दाहाल, अभिषेक रिजाल, सुमन लामा, दर्शन गुरुङ, दिनेश राजवंशीजस्ता ४० भन्दा धेरै खेलाडी अहिले टिममा छैनन् । यस्तो अवस्थामा राष्ट्रिय टिमलाई बलियो बनाउन नियमित लिग आयोजना गर्नु, एकेडेमी व्यवस्थित बनाउनु, फुटबल तालिका व्यस्त बनाउनुपर्ने हो, तर, एन्फा राजनीतिक किचलोमै रुमल्लिरहेको छ ।

यी सबै अस्तव्यस्ततालाई चिर्दै फुटबलमा उब्जिएका तमाम प्रश्नको जवाफ दिनुपर्ने एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ भने मौन छन् । कयौं प्रश्न उठिरहँदा पनि उनी चुपचाप छन् । आफू नेतृत्वमा आउनुअघि उनले भन्ने गरेको फुटबलको विकास र सुशासन यही हो त ?


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।