लिगलिगे दौडको उपधि गजेन्द्र राईलाई

कार्तिक १, २०८० |भीमलाल श्रेष्ठ
लिगलिगे दौडको उपधि गजेन्द्र राईलाई

गोरखा । पाँच सय वर्षअघि लिगलिगकोटमा दौडिएर द्रव्य शाह गोरखाका राजा भएका थिए । दौडेर राजा हुने थलो लिगलिगकोटमा इतिहासको स्मरण र सम्मानस्वरुप गोरखामा बर्सेनि दौड प्रतियोगिता हुने गरेको छ । यस वर्ष आयोजना भएको लिगलिगे दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन् ।

गोरखाको पालुङटार नगरपालिका वडा नं ५ को चेपेघाट बाट वडा नं २ लिगलिगकोटसम्म १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका ३० वर्षीय गजेन्द्र राईले उपाधि जिते ।

अन्य ४८ जना धावकलाई पछि पार्दै उपाधि जितेका राईले नगद एक लाख पुरस्कार हात पारे । उनीसँगै दौडेका आर्मीकै नरेन्द्रसिंह रावत दोस्रो र यसअघिका ३ पटकका उपाधि विजेता भारतीय सेनाका अनिश थापा तेस्रो भए ।

कोरोना महामारीका कारण बीचमा २ वर्ष लिगलिगे दौड स्थगित गरिएको थियो । ऐतिहासिक लिगलिगकोट क्षेत्रको विकास र प्रबर्द्धनका लागि यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

लिगलिगे दौड आयोजना शुरुवातदेखि नै ओलम्पियन एवं राष्ट्रिय धावक बैकुण्ठ मानन्धर खेलाडीहरुलाइ प्रोत्साहन दिन अतिथिका रुपमा सहभागी हाुदै आएका छन । लिगलिगे दौडले खेलकुदका साथै इतिहासको संरक्षणमा समेत भूमिका खेलेको उनको भनाइ छ ।

वि.सं.२०६७ साल देखि लिगलिगकोट विकास अभियानले यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।