गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग कायम राखेको छ । मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले संघीय संसदको आगामी अधिवेशनमा सहकारीमा बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता गर्नका लागि सरकार गम्भीर भएर लाग्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको देखिएकाले छानबिन समिति आवश्यक रहेको बताउनुभयो । यसअघि सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको र समस्या सम्बोधन नगरेको उहँले जिकिर गर्नुभयो ।

'सहकारी ठगीका विषयमा सरकारका स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ,' उहाँले भन्नुभयो, 'हामीले शंकाको सुविधा दिएका छौँ । राजीनामा र मुद्दा अहिले हुनुपर्छ भनेका छैनौँ । कुरा उठिसकेपछि संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्छ भनेका छौँ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.