संसद्‍मा बोल्ने अनुमतिका लागि सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‍मा बोल्ने अनुमतिका लागि सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ । उहाँले अघिल्लो अधिवेशनमा आफ्नो मन्त्रालयअन्तर्गतका विषयमा उठेका प्रश्नका विषयमा जवाफ दिन नपाएको भन्दै बोल्ने अनुमतिका लागि सभामुख घिमिरेलाई पत्र लेख्नुभएको हो ।

अघिल्लो अधिवेशनमा संसद्‍मा जारी अवरोधका कारण शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिन नपाएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।

'संघीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो,' उहाँले सभामुख घिमिरेलाई लेख्नुभएको पत्रमा उल्लेख छ, 'सो सम्बन्धमा मैले संसद्‍मा उपस्थित भै सार्वभौम संसद् मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसदमा उत्पन्न भएको गतिरोधको कारण संभव भएन।' 

संसद्को आगामी अधिवेशन यही २८ गतेबाट चालु हुनेछ । सो अधिवेशनमा सुरुवातमै आफूलाई बोल्ने अनुमति दिन गृहमन्त्री लामिछानेले माग गर्नुभएको छ ।

अघिल्लो अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले विरोध जनाएका कारण प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध हुँदै आएको थियो । कांग्रेसले आगामी अधिवेशनमा पनि आफ्नो अडान कायमै राख्ने बताएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.