रवि लामिछाने, केपी ओली र पुष्पकमल दाहाल नै प्रदेश प्रमुख भएर आए पनि मेरो सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

चैत्र ९, २०८० |महाप्रसाद खतिवडा
रवि लामिछाने, केपी ओली र पुष्पकमल दाहाल नै प्रदेश प्रमुख भएर आए पनि मेरो सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई वर्षसम्म वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने दाबी गरेका छन् ।

मोरङको झोराहाटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कसैले प्रदेश सरकार ढाल्छु भनेर सोचेको छ भने त्यो भ्रमबाट मुक्त हुन सुझाव दिए ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रदेश प्रमुख भएर आए पनि अहिलेको सरकारलाई बल मिच्याइँ गरेर हटाउन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी छ । असंवैधानिक रुपमा आफूलाई हटाउन खोजे रुकमाङ्गत कटुवाललाई हटाउँदाको हविगत व्यहोर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

सरकार विरुद्ध लेख्नुअघि सोचेर लेख्न र सोचेर बोल्न मुख्यमन्त्री कार्कीले चेतावनी दिए । नसोची लेख्दा र बोल्दा आफूले लेखेको कुराले आफैंलाई गलपासो लाग्ने त होइन भन्ने कुरा हेक्का राख्न मुख्यमन्त्री कार्कीले भनेका छन् ।

केन्द्रीय गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्री कार्कीलाई नैतिकताको आधारमा राजीनामा गर्न नेकपा एमालेले भन्दै आएको छ । तर, नेपालको संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको सरकारको बहिगर्मनमा जानु भनेको मध्यावधि निर्वाचनमा जानु हो भन्ने तर्क सरकारले गर्दै आएको छ । केन्द्रीय गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार छाडेका छैनन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।