कर्णालीमा पनि झुन्डियो पुराना पार्टीको घाँटीमा घण्टी !

मंसिर ८, २०७९ |कमल पन्त
कर्णालीमा पनि झुन्डियो पुराना पार्टीको घाँटीमा घण्टी !

सुर्खेत । १२ प्रतिनिधिसभा र २४ प्रदेशसभाको निर्वाचन क्षेत्रहरुमा भइरहेको मतपरिणाम धमाधम आउन थालेको छ । केही निर्वाचन क्षेत्रमा गठबन्धन दल पराजित भएका छन् । केहीमा विजय भएका छन् ।

गणना भएका मतपरिणाम हेर्दा कर्णाली प्रदेशका मतदातले पनि हाम्रोलाई भन्दा पनि राम्रोको विकल्प खोजेको देखिएको छ । यो निर्वाचनमा स्वतन्त्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले जितको नतिजा नदिए पनि उनीहरुले पाएको मतले ठूला दलहरुलाई अबको पाँच वर्षमा निकै चुनौती सामान गर्नुपर्ने देखिन्छ ।

कर्णाली प्रदेशबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व गरेर प्रतिनिधिसभामा पहिलोपटक जुम्लाबाट ज्ञानबहादुर शाहीले प्रवेश गर्दै छन् ।

जुम्लाको प्रदेशसभा सदस्यमा १ (१) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले ९ हजार ६ सय ५४ मत ल्याएर नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गर्नुले परिवर्तनको संकत गरेको छ । शाहीले ७,७५५ मत मात्र ल्याउन सफल रहे ।

जुम्लाबाट पटक-पटक संसद भएर गएका नेताले यहाँका बासिन्दा र यो क्षेत्रको विकासका लागि आवाज उठाए पनि प्रभावकारी कार्यान्वय नभएकै कारण नयाँ अनुहारहरु आउन थालेका हुन् । जुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायले ५४५ मत ल्याएका छन् ।

यसैगरी मुगुमा दुईजनाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन । उनीहरुले ल्याएको मतले परिणाम नदिए पनि मतदाताहरु परिवर्तन खोजिरहेको देखिन्छ ।

यसैगरी मुगुको दुईवटा प्रदेशमा स्वतन्त्र उम्मेदवार छन् । २०७४ अघिका निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिन हिच्किचाउने कर्णाली प्रदेशमा यसपटकका उम्मेदवार मात्र भएनन् उनीहरुले भारी मतले विजय भएका छन् । केही स्थानमा आएको मतलाई हेर्दा मतदाताले परिवर्तन खोजेको देखिन्छ ।

जाजरकोटका प्रदेशसभा १ (१) मा स्वतन्त्र उम्मेदवार बनेका कमानबहादुर खड्काले ४ हजार ४ सय ४६ मत पाएका छन् ।

यसैगरी कालीकोटको प्रतिनिधिसभा सदस्यका लागि दुईजना स्वतन्त्र उम्मेदवार छन् । मतगणना जारी रहेको कालीकोटमा राजनीतिक दलबाट विद्रोह गरेको स्वतन्त्र उम्मेदवार बनेका उनीहरुलाई मतदाताले पत्याएकै छन् ।

हुम्लाको प्रदेशसभामा १ (१) मा स्वतन्त्र उम्मेदवार बनेका मंगलबहादुर शाहीले ६५३ मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार हस्तबहादुर शाहीले ७०५ मत मात्र ल्याएका छन् ।

जाजरकोटका प्रदेशसभा १ (१) मा स्वतन्त्र उम्मेदवार बनेका कमानबहादुर खड्काले ४ हजार ४ सय ४६ मत पाएका छन् । प्रतिनिधि सभातर्फ अभियन्ता नरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवार बनेर ११ सय ९१ मत पाए ।

दैलेखको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३८७ मत ल्याएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका गोपाल नेपाली र निरखबहादुर थापाले क्रमश: २१० र १०६ मत ल्याएका छन् । यसैगरी २ नम्बर क्षेत्रमा स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीले ७१३ मत ल्याएका छन् । दैलेखका चारवटा प्रदेशसभामा बनेका स्वतन्त्र उम्मेदवारहरुले दुई हजार बढी मत प्राप्त गरेका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सुर्खेतबाट स्वतन्त्र र स्वतन्त्र पार्टीले गरी करिब ६ हजार बढी मत पाएका छन् ।

सल्यानबाट स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले २० हजारभन्दा बढी मत पाएका छन् ।

यसरी कर्णालीका दश जिल्लामा आएका मतपरिणामलाई आधार बनाउने हो भने आउँदा निर्वाचनमा ठूला भनिएका दललाई व्यवास्थापनमा कठिनाइ देखिन्छ । भौगोलिक विकट तथा स्वास्थ्य, शिक्षामा पछाडि परेको कर्णालीकाका मतदाताहरुले पनि एउटा पुस्तालाई बिदा गर्न खोजेको छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement