कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित थप आठ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको हो । नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष ०७८/७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकामा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

यस विषयमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले नगरपालिका प्रमुख (मेयर) अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.