नेपाल र कतारबीच यी ८ क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र कतारबीच यी ८ क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता

काठमाडौं । नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको राजकीय भ्रमणका अवसरमा आज कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको हो ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य तथा दुई देशका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ । यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

यसअघि प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो । द्विपक्षीय भेटवार्तामा उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रघुविर महासेठलगायत मन्त्रीहरु हुनुहुन्थ्यो ।

कतारका अमिर अल थानीको सम्मानमा प्रधानमन्त्रीले आज बिहान द्वारिका होटलमा दिवाभोज आयोजना गर्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आइपुग्नुभएका कतारी अमिरले हिजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । कतारी अमिर थानी आजै दिउँसो २ बजे काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.