उफ् गर्मी : मुख्य कारण- डढेलो, प्रदूषण र वनविनाश

सरकारसँग गर्मीको असरबाट जोगाउने योजनै छैन
वैशाख ११, २०८१ |अनिल मिश्र
उफ् गर्मी : मुख्य कारण- डढेलो, प्रदूषण र वनविनाश

धनुषा । केही दिनयता तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । लामो समयदेखि पानी नपर्नु, डढेलो, वायु प्रदूषण, वन विनाशसँगै जलवायु परिवर्तनले अनपेक्षित रुपले गर्मी बढेको अनुमान छ । बर्सेनि गर्मीको विपद् आइलागे पनि यसबाट जोगिन विद्यालयमा बिदा दिनुबाहेक तीनै तहका सरकारसँग कुनै तयारी छैन ।

वैशाख लागेसँगै तराईमा गर्मी अत्याधिक छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्म यस वर्षकै सबैभन्दा बढी भैरहवामा ४३.६, नेपालगन्जमा ४०.७, धनगढीमा ४०.६, जनकपुरधाममा ४०.२ र विराटनगरमा ३६.७ डिग्री सेल्सियस मापन गरिएको छ । जनकपुरलगायतका क्षेत्रमा बादल लाग्दा दुई दिनयता तापक्रममा सामान्य गिरावट आए पनि तत्काल वर्षाको सम्भावना नरहेकाले पश्चिमी तातो हावा र धूलोको प्रभावले जनजीवन प्रभावित भएको जनकपुरका विश्वनाथ ठाकुर बताउनुहुन्छ ।

सर्वसाधारणले गर्मी र चर्को घामबाट जोगिन रुखमुनि विश्राम गर्नुका साथै लस्सी, सातु, जुससँगै पानी धेरै खान थालेका छन् । यसका साथै काँक्रो, तरबुजा र शीतलता प्रदान गर्ने हरियो तरकारीको बिक्री पनि बढेको छ । अत्यधिक गर्मी र चर्को घामले गर्दा मौसमी रोग देखापर्नुका साथै लू लाग्ने जोखिमसमेत बढेको छ ।

यो बेला ताजा र सफा खानामात्र खान, पानी अधिक पिउन, जरुरी काम नपरी घाममा ननिस्किन, निस्किनै पर्दा छाता ओडेर र पूरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्किन प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितको सुझाव छ ।

गर्मीको असर शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा देखिए पनि यस्तोबेला कस्तो सावधानी अपनाउने भन्नेबारे स्थानीय सरकारसँग विद्यालयमा बिदा दिनुबाहेक कुनै तयारी छैन ।

गर्मीयाममा तापक्रम अत्यधिक हुँदा हावासमेत तातो हुन्छ । एक महिनायता वर्षा नहुँदा र वनजंगलमा डढेलोसँगै बढेको गर्मीले दिउँसो बजार सुनसान देखिनुका साथै कार्यालयहरुमा सेवाग्राही पनि कम जाने गरेका छन् । व्यापार व्यवसायमा कमी आउनुका साथै दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । तर मधेशमा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकसमेत बस्न नसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जनाउनुभयो ।

तराई क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दा र तीन दिनसम्म असामान्य रूपले तातो हावा चल्दा लु चलेको मानिन्छ । अंग्रेजीमा ‘हिट वेभ’ भनिने यो अवस्था यस वर्ष अझ बढी हुने पूर्वानुमान छ ।

यो पनि...

देशभर गर्मी बढ्यो : जनजीवन कष्टकर, सावधानी अपनाउन विज्ञको सुझाव


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement