पहिलो सन्तान जन्माएको साढे ३ घण्टापछि सुत्केरीको मृत्यु

वैशाख १०, २०८१ |जनकबहादुर शाही
पहिलो सन्तान जन्माएको साढे ३ घण्टापछि सुत्केरीको मृत्यु
प्रतीकात्मक तस्बिर

हुम्ला । हुम्ला सदरमुकामबाट ३२ कोष दूरीमा रहेको सर्केगाड गाउँपालिका ७, रोडिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको साढे ३ घण्टापछि स्वास्थ्यचौकीमा उपचारकै क्रममा २८ वर्षीया रीता देवकोटाको ज्यान गएको हो ।

पहिलो सन्तान जन्माउन आइतबार बिहान ११ बजे स्वास्थ्यचौकी पुगेकी देवकोटाले राति ९ बजे बच्चा जन्माएको र मध्यरात साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

तीन दिनअगाडि (शुक्रबार) बाट सुत्केरी बेथा लागे पनि उनलाई आइतबार बिहान मात्र स्वास्थ्यचौकी पुर्‍याइएको थियो । उनको स्वास्थ्य अवस्था पनि सामान्य थियो तर राति १० बजे एक्कासि उच्च रक्तश्राव भएपछि बच्चा जन्मिएको साढे ३ घण्टापछि मृत्यु भएको रोडिकोट स्वास्थ्य चौकीका सिनियर अनमी दुर्गा शाहीले जानकारी दिनुभयो ।

‘देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि ढिला नगरी स्वास्थ्यचौकी ल्याएको भए बचाउन सकिन्थ्यो कि ?’ शाहीले भन्नुभयो, ‘बेथाले च्यापेको तीन दिनपछि मात्रै उपचारका लागि ल्याउँदा समस्या भएको हो ।’


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement