चिसापानी कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

फाल्गुन २८, २०८० |हरिश्चन्द्र बाग
चिसापानी कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

काठमाडौं । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको पुलमा गुडिरहेको ट्रकमा आगो लाग्दा १ करोड १० लाख मूल्य बराबरका लाइटर जलेर नष्ट भएको छ । वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७नम्बरको ट्रकमा सोमबार अपरान्ह एक्कासी आगलागी भएको थियो ।

ट्रक पूर्णरूपमा जलेको छ भने कर्णाली पुलका केही लठ्ठामा समेत आगोले क्षति पुगेको छ । जसका कारण पुल नै जोखिममा परेको छ । ट्रकमा रहेका चालक र सह–चालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कैलाली र बर्दियाका विभिन्न पालिकाहरूबाट ढिलै भए पनि पुगेका दमकलले आगो नियन्त्रणमा सहायता गरेका थिए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।