सडक विस्तारपछि सुनसान बने सल्यानका यी बजार

फाल्गुन २६, २०८० |सरिता चलाउने
सडक विस्तारपछि सुनसान बने सल्यानका यी बजार

सल्यान । १५ वर्ष अघिसम्म पैदलयात्री, भरिया र घोडा खच्चडको लावालस्कर लिएर हिँड्ने व्यवसायीका कारण सल्यानको चाख्लीघाट हुँदै ओखरबोट, चौरपानी, मौहालेसम्मका बजार खचाखच हुन्थे । यही बाटो हुँदै जुम्ली, हुम्ली, जाजरकोटी, डोल्पाली र रुकुमेलीहरु नुन लिन झर्थे । तर, २०६३ सालतिर सरकारले राप्ती राजमार्ग विस्तार गरेर सल्यानको शीतलपाटीबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट जोड्यो । त्यससँगै गाउँगाउँसम्म मोटर बाटो पुर्‍याउने लहर चल्दा सल्यानका केही पुराना बजार खण्डहरमा परिणत भएका छने भने केही सुनसान छन् ।

कुनै बेलाको चर्चित सल्यानको ओखरबोट बजार अहिले सुनसान छ । कुमाख र सिद्धकुमाख गाउँपालिकाको सीमामा पर्ने यो बजार, १५ वर्षअघिसम्म पैदलयात्री, भरिया र घोडा खच्चड व्यवसायीका कारण भरिभराउ हुन्थ्यो । त्यतिबेला साबिकका राप्ती र कर्णाली अञ्चलका नागरिक यही बाटो हुँदै दाङ, नेपालगञ्जसम्म झर्थे । खाद्यान्न तथा अन्य सामानको ढुवानीको विकल्प घोडा खच्चड मात्रै भएकाले यो बाटो खुबै चल्थ्यो । व्ययसायीलाई दिनरात व्यापार गर्दा खाने र सुत्ने ठेगान नै हुन्थेन । अहिले यहाँ सडक त पुगेको छ तर बजार भने खण्डहर बनेको छ ।

१० वर्षअघिसम्म त्यस्तै ख्याती थियो चाख्लिघार बजारको पनि । भरिया र घोडा खच्चरले बजार भरिभराउ हुन्थ्यो । २०५१ सालमा गाडी पुगेपछि त झन् यो बजारको रौनक छुट्टै थियो । उपल्लो क्षेत्रका नागरिकले उत्पादन गरेका वस्तु घोडा खच्चरमा बोकाएर यहाँ ल्याएर बेच्ने र दैनिक उपभोग्य वस्तु किनेर लैजाने गरिन्थ्यो । सडक र बजार गाउँसम्म पुगेपछि चाक्लिघाट सुक्यो ।

यही बाटो हुँदै चौरपानी, मौहाले, रातापोखरा, बडागाउँ लगायतका ठाउँका बजारमा मानिसको आउजाउ बाक्लो हुन्थ्यो । बाटुवाहरुलाई खाना, खाजा खुवाउनेदेखि बास दिएर कमाइ हुने हुँदा आम्दानी राम्रो थियो । तर, थारमारेहु्ँदै रुकुम चौरजाहारीसम्म सडक विस्तार भएपछि यहाँको व्यापार ठप्प भयो ।

यातायातको पहुँचसँगै जिल्लाका पुराना बजार आमउपभोक्तका लागि अपायक परे अनि स्थानीय मागले मात्रै बजार नचल्ने हुँदा सुक्दैसुक्दै गए ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।