महाकाली कोरिडोरको निर्माणको काम सुस्त, ९२ किलोमिटर ट्र्याक खुल्नै बाँकी

फाल्गुन ९, २०८० |हरिश्चन्द्र बाग
महाकाली कोरिडोरको निर्माणको काम सुस्त, ९२ किलोमिटर ट्र्याक खुल्नै बाँकी

कञ्चनपुर । नेपालको पश्चिमी सीमा नदी महाकालीलाई आधार मानी कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने गरी महाकाली कोरिडोर विगत १४ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । 

पछिल्लो समय दक्षिणी र पश्चिमी क्षेत्रमा भारतसँग तथा उत्तरी क्षेत्रमा चीनसँग जोडेर त्रिदेशीय व्यापारिक तथा धार्मिक मार्गका रूपमा समेत विकास गर्ने योजनासहित अघि बढाइएको कोरिडोरको काम भने निक्कै सुस्त गतिमा छ । त्यसका विभिन्न अवरोधहरू मध्ये एक हो, वन । त्यही वन क्षेत्रमा काटिएका रुखमा समेत अनियमितता भइरहेको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलाको उत्तरी नाका तिङ्कर भन्ज्याङसम्म जोड्ने ४१३ किलोमिटर सडकखण्ड विगत १४ वर्षदेखि महाकाली कोरिडोरका रूपमा निर्माणाधीन छ । लामो समयसम्म वनले रुख कटानी आदेश नदिँदा अधिकांश ठाउँमा ट्र्याक खोल्नै विलम्ब भइरहेको योजना कार्यालयले जनाएको छ ।

महाकाली कोरिडोरअन्तर्गत चार वटै जिल्लामा गरेर १९ हजार ६६ वटा रूख तथा पोल पर्छन् । कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ सानाठुला रुख कटान गर्नुपर्ने छ । ती मध्ये कटान गरिएका जति रुखहरूमा ठूलो कैफियत देखिन्छ । रुख काट्दा हाँगाबिँगा र धोक्रा परेकोलाई मात्रै दाउरा बनाउन पाइन्छ । तर सर्लक्क परेका गोलिया हुने काठलाई पनि दाउरा बनाई राज्यलाई लाखौँ मूल्य बराबरको राजश्वमा नोक्सान पुर्‍याएको देखिन्छ ।

उक्त क्षेत्रमा साल, सिसौँ, असना, कर्मा लगायतका रुखहरू काटिएका छन् । दाउराको रूपमा विक्री गर्दा एक चट्टा दाउराको १२ हजार रुपैयाँसम्म मात्रै राजश्व सङ्कलन हुने गर्दछ भने काठको रूपमा विक्री गर्दा एक क्युबिक फिट काठकै एक हजार रुपैयाँसम्मका दरले राजश्व सङ्कलन हुन जान्छ । गोलिया बनाउनु पर्ने राम्रो काठलाई पनि दाउराकै आकारमा टुक्र्याइएको पाइएकोले कमजोरी भएको डिभिजन बन कार्यालयको स्वीकारोक्ति छ ।

अहिले ट्र्याक खोल्ने क्रममा कटान गरिएका रुखहरूको घाटगद्दीमा सङ्कलन गर्ने कार्य भइरहेको छ । लामो समयदेखि कटान आदेश नआउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । वि.सं. २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणको कामले गति लिएको थियो । दोस्रो पटक थपिएको कटानी आदेशमा म्याद सकिएको पनि एक महिना भइसक्यो । तर कञ्चनपुर खण्डमा अधिकांश रुखहरू अझै काट्न बाँकी छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।