मुगु अस्पतालमा एक महिनादेखि बनेन एक्सरे मेसिन

माघ १८, २०८० |राजबहादुर शाही
मुगु अस्पतालमा एक महिनादेखि बनेन एक्सरे मेसिन

मुगु । मुगुको जिल्ला अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको छ । उक्त एक्सरे मेसिनको बिग्रिएको इमेज क्यासेट बदल्न करिव २ लाख ५० हजार लाग्ने र सो रकम अस्पतालले व्यवस्थापन गर्न नसक्दा समान्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नुपर्ने वाध्यता छ ।

अस्पतालमा एक्सरे मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसक्यो चिकित्सक अर्जुन भामले भने, 'एक्सरे गर्न बिरामीलाई जुम्ला पठाउनुपर्ने अवस्था छ । टाढाबाट बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउँछन् तर एक्सरे मेसिनको अभावले समस्यामा पर्ने गरेका छन् ।'

एक्सरे मेसिन मर्मतका लागि पहल भइरहेको जिल्ला निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. कमल ढुंगानाको भनाइ छ । एक्सरेका लागि बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनत्तम ७ हजार रुपैयाँभन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा स्थापना भएको जिल्ला अस्पताल बिरामीका लागि अझै भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव, फार्मेसी सेवा र रक्तसञ्चार केन्द्र नहुँदा बिरामी मर्कामा छन् ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।