कोरोना महामारीका बेला बन्द सङ्खुवासभाको किमाथांका नाका अझै खुलेन

खाद्यान्न अभाव हुँदा बसाइसराइ बढ्‍यो
माघ १२, २०८० |दीपेन्द्र शाक्य
कोरोना महामारीका बेला बन्द सङ्खुवासभाको किमाथांका नाका अझै खुलेन

सङ्खुवासभा । कोरोना महामारीका बेला चार वर्षअघि बन्द गरिएको चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका अझै सञ्चालनमा आउन सकेको छैन । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । नाका बन्द हुँदा खाद्यान्न आयात रोकिएपछि त्यसकै दुखले यहाँका बासिन्दा बसाइ गर्ने क्रम बढेको छ ।

चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका चार वर्षदेखि अर्थात् २०७६ साल माघ ५ गतेदेखि पूर्ण रूपमा बन्द हुँदा भोटखोलामा उपभोग्य वस्तुको भाउ अचाक्ली महँगो भएको छ । यहाँका बासिन्दाले विगतमा चिनियाँ बजारमा गएर रोजगारी गर्ने र त्यहिँबाट खाद्यान्न खरिद गरी ल्याउने गरेका थिए । तर अहिले सदरमुकाम खाँदबारीबाट लगिएको दैनिक उपभोग्य सामग्री महँगो पर्ने र किनेर खान नसक्ने भएपछि यहाँका बासिन्दा विस्थापित हुन थालेका छन् । 

किमाथांका, थुदाम, रिदाक, छुमसुरलगायतका गाउँका झन्डै ५ सय स्थानीयले गाउँ नै छाडेका छन् । यी गाउँमा सदरमुकामबाट ढुवानी गरिएको उपभोग्य सामग्रीको ढुवानी मात्रै प्रतिकिलोको ६० रुपैयाँसम्म पर्छ । ४ वर्ष बित्दासम्म नाका खुल्ने अत्तोपत्तो नभएपछि कोही सदरमुकाम झरेर जडीबुटीको व्यापारमा लागेका छन् भने कोही तराईका जिल्ला र राजधानी बसाई सरेका छन् ।

नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्न आयात रोकिएको छ । अभाव टार्न सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडलाई बोकाएर किमाथांकासम्म खाद्यान्न पुर्‍याउने गरिए पनि महँगो छ । भोटखोलामा त खाद्यान्न अभाव नै छ । गाउँपालिकाले नाका खुलाउने प्रयास पटकपटक गरे पनि सफल भएको छैन ।

त्यसो त भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीय स्तरमा अनुमतिपत्र पनि वितरण गरिएको छ । तर नाका खुल्ने छाँटकाँट छैन ।

सदरमुकाम खाँदबारीबाट तीनदेखि पाँच दिनको पैदल दूरीमा पर्ने भोटखोला क्षेत्रका बासिन्दाको आयआर्जन भनेकै जडीबुटी संकलन र बिक्री गर्नु हो । यहाँ कोदो र आलु मात्र उत्पादन हुन्छ । करिब ५ हजार मानिसको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।