मदिराले राउटे समुदायको अस्तित्व नै संकटमा

माघ १०, २०८० |चक्र भण्डारी
मदिराले राउटे समुदायको अस्तित्व नै संकटमा

दैलेख । कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्ने राउटे समुदायमा चिसो र मदिराको कुलतले दुई महिनामै पाँच जनाको मृत्यु भएको छ । आफूलाई 'वनको राजा’ भन्न रुचाउने लोपोन्मुख यो समुदायको जनसंख्या दुई महिनाअघि १४२ थियो । तर कुलतको अवस्था कायमै रहे यो समुदायको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।

एक साताअघि मात्रै राउटे समुदाय दैलेखको भैरवी गाउँपालिका ३ को गडेज्युला सरेको थियो । तर एकाएक सरसामान झिकेर छाप्रोमा आगो लगाई उनीहरु चामुण्डा विन्द्रसैनीको सुइँयातडा जंगलमा सरे । पछिल्लो दुई महिनायता यो समुदाय ५ ठाउँमा सरिसकेको छ । यसरी छिटोछिटो बसाइँ सर्नुको एउटै कारण हो समुदायका सदस्यको मृत्यु । बस्तीमा कसैको मृत्यु हुनेबित्तिकै उक्त शव त्यहीँ गाडेर तुरुन्तै बसाइँ सर्ने चलन यो समुदायमा छ । बढ्दो चिसो, अत्यधिक मदिरा सेवन, पोषिलो खानाको कमी, शिशुको हेरचाह नपुग्नु, स्वास्थ्य परीक्षणमा चासो नदिनुजस्ता कारणले मृत्युदर बढ्दो छ ।

४ वर्षअघि १७२ रहेको राउटे समुदायको जनसंख्या घट्दै गएर अब १३७ जना बाँकी छन् । मदिराको कुलतका कारण युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् । स्वाथ्य स्थिति कमजोर हुँदा थला परेका छन् ।

पैसा छोए पाप लाग्छ भन्ने राउटेलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन थाल्यो । लोक कल्याणकारी राज्यले लोपोन्मुख र अल्पसंख्यक आदिवासी समुदायका लागि गरेको सुरक्षणको पैसाले समुदायमा रक्सीको कुलत भित्र्यायो । यो समुदायलाई सामाजिक सुरक्षा भत्ता नगदमै दिनुको साटो अन्न, लत्ताकपडा र अन्य आवश्यक सामग्री दिन उचित हुने देखेर पहल नगरिएको पनि होइन । तर त्यसको सम्बोधन हुन नसकेको राउटे परियोजनाअन्तर्गतको सामाजिक सेवा केन्द्र दैलेखका कर्मचारी लालबहादुर खत्री बताउँछन् ।

अरुले दिएको कुरा सित्तैमा नलिने, बाहृय समाजसँग टाढै रहने, जंगली खानेकुरा मन पराउने राउटे समुदायका विशेषताहरु विस्तारै फेरिँदै छन् । विगतमा काठका सामग्री बेचेर गुजारा गर्ने यो समुदायले यो परम्परागत पेसा पनि भुल्दै गएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।