चिसोले थलिए सल्यानका भूकम्पपीडित, अहिलेसम्म ५ सय मात्रै अस्थायी आवास बने

पुस २९, २०८० |सरिता चलाउने
चिसोले थलिए सल्यानका भूकम्पपीडित, अहिलेसम्म ५ सय मात्रै अस्थायी आवास बने

सल्यान । जाजरकोट भूकम्पले सल्यानमा घरहरू पूर्ण रुपमा भत्काएको त छैन, तर बस्न मिल्ने गरी सग्ला पनि छैनन् । भत्केका संरचना हटाउन जनशक्तिसमेत पाइँदैन । सबैभन्दा बढी प्रभावित दार्मामा अस्थायी आवास निर्माण गर्न विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन त गरे, तर अहिलेसम्म जम्मा ५ सय हाराहारीमा मात्रै अस्थायी आवास बनेका छन् । अझै पनि जिल्लाभर १२ सय ४५ भन्दा बढी अस्थायी आवास बनाउन बाँकी छ ।

समयमै अस्थायी आवास निर्माण नहुँदा सल्यानका भूकम्प पीडित चिसोले थलिएका छन् । अहिले केही स्वयंसेवक र नेपाली सेनाले प्रभावित क्षेत्रमा खटिएर संरचना हटाउने र आवश्यकता अनुसार अस्थायी टहरा निर्माणमा जुटेका छन् । तर यो पनि पर्याप्त छैन ।

गएको कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सल्यानका तीन पालिकाका १७ सय ४३ घरमा बस्नै नमिल्ने गरी क्षति पुर्‍यायो । ५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुर्‍याएको छ । सबैभन्दा बढी दार्माका १ हजार १ सय ७९ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

बागचौरमा ३ सय ६६ र कुमाखमा १ सय ७१ घरमा क्षति पुर्‍याएकोमा अहिलेसम्म दार्माका ५ सय २० र कुमाखका ६० जना भूकम्पपीडितले मात्र पहिलो किस्ता प्राप्त गरेका छन् । बागचौर नगरपालिकाका भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ता बापतको रकम पाएका छैनन् ।

लाभग्राहीको सङ्ख्या संकलन नभएकाले बागचौरमा ढिलाइ भएको छ भने कुमाख र दार्मामा रकम अपर्याप्तका कारण पहिलो किस्ता दिन ढिलाइ भएको पालिकाले जवाफ दिएका छन् ।

सरकारले भूकम्प पीडितका लागि सल्यानमा २ करोड मात्र रकम पठाएको थियो । सरकारले पठाएको पहिलो किस्ताबापत जिल्ला विपद् व्यवस्थापन समितिले दार्मामा अस्थायी आवास निर्माणका लागि १ करोड ३० लाख, कुमाखमा १५ लाख र बागचौरमा ३५ लाख पठाएको छ । एकातिर अस्थायी आवास निर्माणको लागि जनशक्ति अभाव छ भने अर्कोतिर पहिलो किस्ता प्राप्त गर्न ढिलाइ भइरहेको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।