सल्यानका भूकम्पपीडितलाई चिसोबाट जोगिन कठिन

बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थाले
पुस २२, २०८० |सरिता चलाउने
सल्यानका भूकम्पपीडितलाई चिसोबाट जोगिन कठिन

सल्यान । जाजरकोट भूकम्पले क्षति पुगेको सल्यानको दार्मा गाउँपालिकामा यतिबेला न्युनतम तापक्रम सात डिग्री सेल्सियस छ । कात्तिक १७ को भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका ४ सय ५० परिवारलाई अहिले अस्थायी टहरामा स्थानान्तरण त गरियो तर चिसोले उनीहरूको दैनिकी कष्टपूर्ण बनेको छ ।

त्यसो त सात सयभन्दा बढी परिवार अहिले पनि त्रिपाल र चर्किएकै घरमा छन् । दिनदिनै बढ्दै गएको चिसोले बालबालिका, दीर्घरोगी र वृद्धवृद्धा बिरामी परेका छन् । दिउँसा त उनीहरू जसोतसो दिन बिताउँछन् । तर बढ्दो चिसोले राति र साँझ बिहान बिताउन उनीहरूलाई निकै मुस्किल छ ।

दार्मा गाउँपालिका ५ राउटेवाडाकी तुलसा खडकाको दुईवटै घर भूकम्पले भत्काएपछि एक महिनासम्म उनको परिवारको बास त्रिपालमुनि भयो । सरकारले पहिलो किस्ता बापत दिएको २५ हजार राहतले उनले अस्थायी टहरा निर्माण गरिन् । तर दिनदिनै बढ्दै गएको चिसोलाई अस्थायी टहराले छेक्न सकेन ।

उनका जेठा छोरा बिरामी छन् । एकातिर मध्य हिउँदको चिसो, अर्कोतिर १२ दिनदेखि बिरामी छोरा- चिसोबाट छोरालाई जोगाउन उनलाई मुस्किल छ । ‘पानी परेर कपडा भिजेका हुन्छन्,’ त्रिपालमुनि बस्दै आएकी तुलसाले भनिन्, ‘बाबु पनि ठिक हुन्न । १२ दिन भइसक्यो, मैले धेरै उपचार गरिहालेँ । अब उपचार गर्नको लागि पैसा पनि छैन ।’

दार्मा २ लिजापाजाकी भद्री पाण्डे, भूकम्प जाँदा गर्भवती थिइन् । भूकम्पपछिको त्रिपालको बास र चिसोले उनले बच्चा बचाउन सकिनन् । जन्मेको केही समयपछि शिशुको मृत्यु भयो । उनी आफू पनि बिरामी छिन् ।

दिनहुँ बढ्दै गएको चिसोले त्रिपाल र अस्थायी टहरामा बसेका अधिकांश बालबालिका, दीर्घरोगी वृद्धवृद्धा बिरामी छन् । उनीहरूलाई न्यानो कपडा अभाव छ । अधिकांशमा ज्वरो आउने, टाउको दुख्ने दम, मुटु दुख्ने हातखुट्टा सुन्निनेजस्ता समस्या देखिएका छन् । जस्तापाताले निर्माण भएका अस्थायी टहरामा पनि सित चुहिदा ओढ्ने कपडा भिज्ने गरेका छन् ।

दार्मामा ६ सय ७८ ज्येष्ठ नागरिक, १ सय ८६ गर्भवती, १ सय ३५ सुत्केरी, ७ सय २० दीर्घरोगी र अपाङ्गता भएका व्यक्ति तथा ७ सय २२ जना ५ वर्षमुनिका बालबालिका छन् । यहाँका अस्थायी टहरा र त्रिपालमा ५ सय १२ दीर्घरोगी बस्छन् । अस्थायी आवास भएपनि विहान-बेलुकीको चिसोले दीर्घरोगी बढी प्रभावित भएका छन् ।

भूकम्पपछि त्रिपालमा बसेका परिवारलाई मंसिरभित्र अस्थायी आवासमा सार्ने सरकारको लक्ष्य थियो । दार्मामा एक हजार १ सय ७९ घरमा क्षति पुर्‍याएकोमा अहिलेसम्म ४ सय मात्र अस्थायी आवास बनेका छन् । एकातिर चिसो र अर्कोतिर निर्माण सामाग्रीको अभावका कारण आवास निर्माणमा ढिलाइ भइरहेको छ । जसकारण भूकम्पपीडित त्रिपाल र भत्किएकै घरमा बस्न बाध्य छन् ।

दार्मामा १ हजार १ सय ७९ घर पूर्णरुपमा क्षति र १ हजारको सेरोफेरोमा आंशिक क्षति भएको भनिएपनि पटक पटक गइरहेको परकम्पका कारण लाभग्राहीको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म ४ सय १३ जनाले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् भने बाँकी ५ सय २० जनालाई मात्र पुग्ने पहिलो किस्ता बापतको रकम प्राप्त भएको छ । बाँकीलाई थप निकासा माग्ने पालिकाको तयारी छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।