खोटाङमा एक घरमा आगलागी, एक सुत्केरीसहित १८ जनाको बिचल्ली

पुस ९, २०८० |उत्तम चौलागाईं
खोटाङमा एक घरमा आगलागी, एक सुत्केरीसहित १८ जनाको बिचल्ली

खोटाङ । खोटाङमा एक घरमा आगलागी भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी भएको हो ।

आगलागीबाट १ लाख ५० हजार नगद, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्न, काठपात गरी १५ लाख बढीको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट आगो सल्किएर शनिबार साँझ आगलागी भएको उनले बताए ।

१८ जनाको संयुक्त परिवार बसोबास गरिहेको घर जलेर नष्ट भएपछि सार्की परिवार अहिले मतानमा बसिरहेको स्थानीय बासिन्दाले बताएका छन्। सार्कीकी कान्छी बुहारी सुत्केरी भएको १५ दिनमात्र भएकाले आगलागीले समस्या भएको छ । चिसोका कारण सार्की परिवारको बिचल्ली भएको स्थानीयको भनाइ छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।