घर,परिवारभित्रै लैंगिक हिंसाका घटना बढी, कानुन कार्यान्वयन भएन प्रभावकारी

मंसिर २५, २०८० |सरिता चलाउने
घर,परिवारभित्रै लैंगिक हिंसाका घटना बढी, कानुन कार्यान्वयन भएन प्रभावकारी

सल्यान । लैंगिक हिंसाका घटनामध्ये सबैभन्दा बढी महिला र बालिकामाथि हुने गरेका छन् । घर परिवार र आफन्तबाटै हुने लैंगिक हिंसाको प्रवृत्ति सल्यानमा पनि व्याप्त छ । महिला र बालिका परिवारबाटै पीडित भएका कतिपय घटनामा आत्माहत्याको बाटोसमेत रोज्ने गरेका छन् ।

गत भदौ १२ गते सल्यानमा १२ वर्षकी एक बालिका आफ्नै बाबुबाट बलात्कृत भइन् । पीडित बालिकाले सो कुरा परिवारलाई जानकारी गराए पनि उनको कुरा कसैले सुनेन । घटनाको केही दिनपछि उनले आत्महत्याको प्रयास गर्दा मात्रै यो कुरा बाहिर आयो । यस्तै २०७९ साल चैत ५ गते अर्की बालिका आफ्नै बाबुबाट बलात्कृत भइन् । गर्भवती भएको ८ महिनापछि गत भदौमा यो कुरा प्रहरीमा आएपछि बाबु पक्राउ परे । यी प्रतिनिधिमूलक घटनाले जिल्लामा परिवार, आफन्त र नातागोताबाटै हुने हिंसाको चित्रण गर्छन् । जिल्लामा ५ महिनामा आफन्तैबाट ११ वटा जबरजस्ती करणीका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले भने, ‘जति पनि यस्ता घटना भएका छन् । ती घटनाहरु ९५ प्रतिशत घरभित्रैबाट भएका पाएका छौँ ।’

लैंगिक हिंसाविरुद्धको अभियान चलिरहेकै बेला गत बुधबार सिद्धकुमाख गाउँपालिकामा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरे । गत भदौमा चिनजानकै व्यक्तिबाट आमाछोरीको जलाएर हत्या भयो । यस आर्थिक वर्षको ५ महिनामा सल्यानमा ५ महिला, एक बालक र एक बालिका आफन्त र चिनेकै व्यक्तिबाट मारिएका छन् । यस्तै बहुविवाह, सम्बन्धविच्छेद र कुटपिटका घटनामा पनि महिला र बालबालिका बढी पीडित छन् ।

जिल्ला अदालत सल्यानका श्रेस्तेदार नारायणप्रसाद चापागाईंले भने, ‘मुद्दाहरु आइरहेका हुन्छन् । त्यसका आधार, कारणलाई हेर्दा अधिकांश के पाउँछौँ भन्दा महिलालाई खान, लाउन नदिएर घरबाट निकालिएको, कुटपिट भएको, माइतमै बस्नु परेको अवस्था, अर्को बालबालिकाको हकमा चाहिँ जबरजस्ती करणीमा संलग्न भएको कुरा, सार्वजनिक महत्वसँग जोडिएकालगायतका घटनामा बालबालिका पीडित भएर मुद्दा दर्ता भएको पाइन्छ ।’

तथ्यांकले १० वर्षभन्दा मुनिका बालबालिका र विपन्न घरपरिवारमा घरकै सदस्यबाट बढी पीडित हुने गरेको देखाउँछ । कतिपय घटना त परिवारभित्रै लुकाउन खोजिन्छ । सरोकारवाला निकाय, स्थानीय सरकार र प्रहरी प्रशासनबाट पहल भइरहे पनि यस्ता घटना कमी आउन सकेको छैन ।

यस्ता घटनाको न्यूनीकरणका लागि नेपाल सरकार र स्थानीय सरकारबाटै विशेष ध्यान दिनु पर्ने आवश्यकता रहेको शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाको भनाइ छ ।

लैंगिक हिंसामा परेका महिला र बालबालिकामा शारीरिक, यौनजन्य, मानसिक, मनोवैज्ञानिक तथा आर्थिक/सामाजिक असर पर्ने गरेको छ । पीडितमाथि समाजले विभिन्न लाल्छना लगाउने हुँदा उनीहरू तिरस्कृत हुनु परेको अवस्था छ । जसका कारण आत्माहत्याको प्रयाससमेत गर्ने गरेका छन् । कानुनको प्रभावकारी कार्यान्वन हुन नसक्दा पीडकले उन्मुक्ति पाएका थुप्रै घटना छन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।