दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुआब्जा विवाद टुंगियो

आश्विन १३, २०८० |चक्र भण्डारी
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुआब्जा विवाद टुंगियो

दैलेख । दैलेखको विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक जग्गाको मुआब्जा विवाद टुंगिएको छ ।

श्रीस्थान, नाविस्थान र पादुकाको विभिन्न स्थानमा जग्गा अधिग्रहण प्रक्रियामा स्थानीयले सहमति नजनाउँदा विवाद रहेकोमा सर्वपक्षीय बैठकले समाधान गरेको हो । जग्गाको मुआब्जा विवाद समाधान भएसँगै पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु हुने भएको छ ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घर रहेको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै अधिग्रहण कार्य सुरु भएको छ ।

दैलेखको पन्चकोशी क्षेत्रमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण पहिलो चरणअन्तर्गत प्रारम्भिक अन्वेषण चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरिसकेको छ । उक्त सर्बेको रिपोर्टमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक देखिएकाले थप ड्रिलिङ सर्बेका लागि सरकारले जग्गा अधिग्रहण र सडक स्तरोन्नति गर्नु पर्ने चिनियाँ प्राविधिक टिमले सुझाव दिएको थियो ।

पेट्रोलियम पदार्थको अनुसन्धानका लागि आवश्यक ४५ रोपनी जग्गालाई प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने सहमति भएको छ । स्थानीयसँग सहमति भएपछि अन्वेषण स्थानमा उपकरण ल्याउनका लागि सडक चौडा पार्ने र स्तरोन्नति गर्ने काम सुरु भएको छ ।

दैलेखमा रहेको पेटोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्बे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खनन्‌को काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।