गाजाका अस्पतालमा फेला परेका सामूहिक चिहानबारे स्वतन्त्र छानबिन गर्नुपर्छ : राष्ट्रसंघीय मानव अधिकार परिषद्

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाका अस्पतालमा फेला परेका सामूहिक चिहानबारे स्वतन्त्र छानबिन गर्नुपर्छ : राष्ट्रसंघीय मानव अधिकार परिषद्

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले गाजाका अस्पतालमा फेला परेका सामूहिक चिहानका बारेमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्नुपर्ने बताएको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रमुख भोल्कर तुर्कले इजरायलले गाजाको रफाह क्षेत्रमा निरन्तर गरेको आक्रमणमा महिला र बालबालिका परेकोमा आपत्ति जनाउँदै उक्त घटनाको स्वतन्त्र र पारदर्शी तवरबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले १२ लाख जनसंख्या रहेको क्षेत्रमा इजरायलको सैन्य आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताएका छन् । त्यस्तै मानव अधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शामदसानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा गाजाका अल नसेर तथा अल–शिफा अस्पतालमा भएको आक्रमणले निम्त्याएको विपत्तिले आफूहरु त्रसित भएको र सोही कारण उक्त घटनाको छानबिन गर्न आवश्यक रहेको बताइन् । साथै उनले इजरायलको आक्रामक गतिविधि आपराधिक रहेको बताइन् ।

इजरायली सेनाले अस्पतालबाट आफ्नो टोलीलाई फिर्ता बोलाएपछि त्यहाँबाट करिब तीन सय १० वटा शव गाडिएको अवस्थामा निकालिएको छ । इजरायलले भने उक्त घटनाका आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.