भारतमा भोलिदेखि हुने जी-ट्वेन्टी सम्मेलनको तयारी पूरा, शक्तिराष्ट्रका नेताको दिल्लीमा जमघट

भाद्र २२, २०८० |राजेश मिश्र
भारतमा भोलिदेखि हुने जी-ट्वेन्टी सम्मेलनको तयारी पूरा, शक्तिराष्ट्रका नेताको दिल्लीमा जमघट

नयाँदिल्ली । विश्वका ठूला अर्थव्यवस्था भएका देशहरुको समूह 'जी-ट्वेन्टी' को दुईदिने शिखर सम्मेलन भोलि (शनिबार) भारतमा सुरु हुँदै छ । सम्मेलनको तयारी पूरा भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्र तथा आमन्त्रित देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नयाँदिल्ली आउने क्रम जारी छ । आज अमेरिकी राष्ट्रपति जो बाइडन, इटलीका प्रधानमन्त्री जर्जियो मेलोनी, बेलायतका ऋषि सुनक, जापानका फुमियो किसिदा र अर्जेन्टिनाका प्रधानमन्त्री अल्बर्टो फर्नान्डिज दिल्ली आइपुगेका छन् ।

आजै बाइडनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । शनिबार बाइडन शिखर सम्मेलनका दुई महत्त्वपूर्ण सत्रहरु 'वन अर्थ' र 'वन फ्यामिली' मा सहभागी हुनेछन् । चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने अनुपस्थित रहनेछन् ।

सम्मेलन आयोजनाको नेतृत्व गरिरहेका अमिताभ कान्तले जी-ट्वेन्टी घोषणापत्रले विकासशील देशहरुको आवाज बोल्ने जनाए । भारतले वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एक परिवार हो’ भन्ने सन्देश 'जी-ट्वेन्टी' सम्मेलनमार्फत दिन चाहेको उनले उल्लेख गरे । शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यवस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ, जहाँबाट विश्वभरबाट र भारतभित्रैबाट गरी तीन हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।

शिखर सम्मेलनमा जलवायु परिवर्तनको असर नियन्त्रण, विश्व अर्थतन्त्र, खाद्य तथा इन्धनको बढ्दो मूल्य, कर्जा संकट, गरिबी निवारण, विकास लगायतका मुद्दामा छलफल हुनेछ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।