पेरिस ओलम्पिक : तयारी भव्य, पेरिसका १५ ठाउँमा २१ खेल

सय वर्षपछि सेन नदीमा ट्रायथलन र पौडी
ओलम्पिक साउन ११ गतेदेखि हुने
वैशाख ११, २०८१ |खेल ब्युरो
पेरिस ओलम्पिक : तयारी भव्य, पेरिसका १५ ठाउँमा २१ खेल

काठमाडौं । पेरिस ओलम्पिक सुरु हुन अब एक सय दिन पनि बाँकी छैन । ग्रीष्मकालीन ओलम्पिकको चार वर्षको पर्खाइ सकिँदै गर्दा आयोजक फ्रान्सले खेलस्थल तयार गरेको छ । पर्यटकीय गन्तव्य रहेका फ्रान्सेली राज्य क्रान्तिका स्मारक आसपासमा निर्माण गरिएका खेलस्थलमा उद्घाटनको तयारीसमेत सुरु भइसकेको छ ।

पेरिस ओलम्पिक आगामी साउन ११ गते सुरु हुँदै छ । ओलम्पिकको सयदिने ‘काउन्ट डाउन’ सुरु भइसक्यो । विश्व खेलकुदको महाकुम्भको उद्घाटन समारोहका लागि फ्रान्सको राजधानीमा परम्परागत नृत्य, झाँकी र नाटकसहित तयारी भइरहेको छ । उद्घाटन समारोह हुने स्थानमा राति ९ बजेर ३५ मिनेटमा सूर्यास्त हुने भएकाले साँझ साढे ७ बजे नै कार्यक्रम सुरु हुँदा विगतका ओलम्पिकभन्दा फरक देखिनेछ ।

प्राचीन ग्रिक ओलम्पियाबाट ओलम्पिक फ्लेम फ्रान्ससम्म ल्याउने रिहर्सल भइसकेको छ । हेराको पुरातन ग्रिक मन्दिरमा पुजारीको भूमिका निर्वाह गर्दै कलाकार देखिएका छन् ।

ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेलस्थल बनाइएको छ । यहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुनेछन् । खेलस्थल पेरिसका प्रतिष्ठित स्मारक आसपासमा बनाइएका छन् । २१ लाख जनसंख्या रहेको फ्रान्सको राजधानीमा प्रसिद्ध वास्तुकला, कला र इतिहास हेर्न मानिस ओलम्पिकलाई आधार बनाएर पुग्दै छन् ।

विश्वप्रसिद्ध आइफल टावरको ठीक तलपट्टि रहेको चाम्प डे मार्समा बिच भलिबलका खेल हुनेछन् । ओलम्पिकका दर्शकले आइफल टावरबाट सूर्यास्तको दृष्य र विश्वस्यतरीय भलिबल प्रतियोगिता सँगै हेर्न पाउनेछन् । स्मारकसँगै रहेको सेन नदीमा सयौं खेलाडीले डुंगामा परेड गर्नेछन् । हजारौं दर्शकले किनाराबाट त्यो दृष्य हेर्नेछन् ।

ट्रायथलन र खुला पानीमा हुने पौडी सेन नदीमा हुनेछ । यो नदीले सय वर्षपछि प्रतियोगिता गर्न लागेको हो । सन् १९२४ मा नदी फोहोर भएपछि यो नदीमा प्रतियोगिता गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध अहिले सकिएको छ ।

ऐतिहासिक प्रदर्शनी केन्द्र ग्रान्ड पलाइसमा फेन्सिङ र तेक्वान्दो खेलाउन सवलीकरण गरिएको छ । स्मारक सोन्जु ली जेको एक छेउमा रहेको प्यालेस डे ला कुकोमा सहरी युवाको रोजाइको खेल प्रस्तुत गरिनेछ । बीएमएक्स फ्रिस्टाइल, स्केट बोर्डिङ र ब्रेकडान्स यहाँ हुनेछन् ।

झन्डै चार सय वर्ष अघि बनेको आर्मी अस्पताल, जहाँ नेपोलियन बोनापाटको समाधिसमेत छ, त्यहाँबाट साइक्लिङ र एथ्लेटिक्सका खेल हेर्न सकिनेछ । यो फ्रेन्च आर्मीका लागि श्रद्धाको केन्द्रसमेत हो । घोडचडी प्रतियोगिताका लागि त भर्सेल्सको बगैंचा नै प्रयोग गरिनेछ । राजा लुई चौधौंको दरबारसमेत रहेको चदु दो भसाई पेरिस जाने पर्यटकको आकर्षण केन्द्रसमेत हो ।

सेलिङ खेलका लागि, मार्सेको कोट डी ओजरस्थित बन्दरगाहलाई नयाँ प्रतियोगितास्थलका रुपमा विकसित गरिँदै छ । अझ नयाँ कुरा त के छ भने, फ्रान्सले आफ्नो विदेशी भूमिमा पनि प्रतियोगिता गर्नेछ । फ्रेन्च पोलिनेसियाको टियाहुपोमा सफिर्ङका खेल आयोजना गरिनेछन् । यो दक्षिण प्रशान्त महासागरको फ्रान्स शासित टापु हो ।

सन् २०१७ मा ओलम्पिक आयोजनाको अधिकार पाएपछि फ्रान्सले यो वर्षको सुरुसम्ममा धेरै प्रतियोगितास्थल निर्माण गरेको थियो । यस्तै, नयाँस्थलमा पर्छ अक्वाटिक सेन्टरको वाटरपोलो र डाइभिङ खेलस्थल । अक्वाटिक केन्द्रनजिकै फ्रान्सको राष्ट्रिय रंगशाला छ । यहाँ रग्बी र फुटबल विश्वकपका खेल भएका थिए । यो रंगशालाले अहिले नयाँ एथ्लेटिक्स ट्रयाक पाएको छ । जुन परम्परागत गुलाबी र रातो रङभन्दा फरक बैजनी रङको छ ।

सुटिङका खेलाडीले भने पेरिसबाट केही घण्टाको दूरीमा रहेको सानो सहर चतुगौमा जानुपर्नेछ ।

ओलम्पिकमा विश्वभरका दुई सय छ देशका १० हजार पाँच सय खेलाडी सहभागी हुनेछन् । त्यसपछि हुने पारालम्पिकमा चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता एक करोड तीस लाखले प्रत्यक्ष हेर्नेछन् । टेलिभिजनबाट भने चार अर्ब मानिसले हेर्ने आयोजकको दाबी छ ।

यो पनि...

पेरिस ओलम्पिक : एथ्लेटिक्स ट्रयाकको रङ ‘बैजनी’

पेरिस ओलम्पिक २०२४ : ओलम्पिक टर्च रिले सुरु

रुस-युक्रेन युद्धको बाछिट्टा ‘पेरिस ओलम्पिक’मा

पेरिस ओलम्पिकमा रुस र बेलारुसका लागि झन्डा र राष्ट्रियगान प्रतिबन्ध



Enter Kantipur TV HD
Advertisement