वेस्ट इन्डिजविरुद्धको चौथो टी-ट्वेन्टी खेलमा नेपाल २८ रनले पराजित

एक खेलअघि नै सिरिजमा वेस्ट इन्डिजको कब्जा
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिजविरुद्धको चौथो टी-ट्वेन्टी खेलमा नेपाल २८ रनले पराजित

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले एक खेलअगावै नेपालविरुद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिरिजको चौथो खेलमा नेपाललाई २८ रनले हराउँदै वेस्ट इन्डिज ‘ए’ ले सिरिज जितेको हो । २१० रनको लक्ष्य पछ्याएको नेपाल १८१ रनमा समेटिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय नौ रन बनायो । प्रतिश जीसीले एलिक आथान्जेलाई पाँच रनमा आउट गराएका थिए । आथान्जे आउट हुँदा वेस्ट इन्डिजको खातामा नौ रन मात्र थियो । पावर प्ले सकिँदा पाहुना टोलीले एक विकेट गुमाएर ६० रन बनायो ।

१०औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले जानसन चार्ल्सलाई ५८ रनमा आउट गराए । ३० बलमै ५८ रन बनाएका जानसनको प्रहार डिप मिड विकेटमा रहेका दीपेन्द्रले क्याच गरेका थिए । कुशलले नै केइसी क्यार्थीलाई चार रनमा आउट गरे । क्यार्थीको प्रहार कप्तान रोहितले क्याच गरेका थिए । ३७ बलमा आन्द्रे फ्लेचले अर्धशतक बनाउँदा वेस्ट इन्डिजले १४० रन पूरा गरेको थियो । उनले ५४ बदलमा नौ चौका र चार छक्काको सहयोगमा अविजित ८४ रन बनाए । पाँचौं नम्बरमा मैदान प्रवेश गरेका फायबियन एलनले पनि ३३ रनको योगदान गरे ।

नेपालका कुशल भुर्तेलले दुई विकेट लिँदा बाँकी बलरले सम्झनलायक प्रदर्शन नै गरेनन् । प्रतिश जीसीले एक विकेट लिए पनि चार ओभरमा ४३ रन खर्च गरे । ललित राजवंशीले ५३ र अविनाश बोहोराले ४३ रन खर्चिएका थिए । यी खेलाडी नेपालका लागि महँगा साबित भए ।

जवाफमा नेपाल २० ओभरमा सबै विकेट गुमाएर १८१ रनमा समेटियो । ओपनर आसिफ सेख शून्यमा आउट भए । चार ओभर एक बलमा कुशल भुर्तेल एक रन बनाएर बोल्ड भए । कुशल मल्ल चार रनमै बाहिरिए । उनी ३० यार्ड सर्कलभित्रै क्याचआउट भए । पावर प्लेमा नेपालले नै तीन विकेट खर्चिएर ४५ रन जोडेको थियो । हयदेश वेल्सको गुग्ली बल सन्दीप जोराले सिधै क्यार्थीको हातमा प्रहार गरे । सन्दीप, दीपेन्द्र र गुल्सन समान १९-१९ रन बनाएर बाहिरिए ।

सोमपाल कामी १०, प्रतिश जीसी र ललित राजवंशी शून्य रनमै आउट भए । अविनाश बोहोराले भने १७ रनको योगदान गरे । मिडियम बलर फार्डले नेपालका तीन खेलाडीलाई आउट गराए ।

नेपालविरुद्ध स्पिनरले पाँच विकेट लिए । हयदेश वेल्सले तीन र फाबियनल एलनले दुई विकेट लिएका थिए । अन्तिम ओभरमा मोटीले दुई विकेट लिएका थिए । प्रशिक्षक मोन्टी देशाईले आज करण केसी, सागर ढकाल र कमलसिंह ऐरीलाई आराम दिएका थिए ।

नेपालले पहिलो खेलमा ४ विकेटको जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछिका तीनै खेलमा पराजित भएपछि नेपालले सिरिज गुमाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.