आईपीएलमा कोलकातासँग मुम्बई पराजित

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा कोलकातासँग मुम्बई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि इन्डियन प्रतियोगिताको प्ले अफबाट लगभग बाहिरिएको छ । वाङखडे स्टेडियममा कोलकाताले मुम्बईमाथि १२ वर्षपछि जित हात पारेको हो ।

घरेलु टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै कोलकाताले १९ दशमबल पाँच ओभरमा अल आउट भएर १ सय ६९ रनको योगफल बनाएको थियो । खराब सुरुवात गरेको कोलकताले ५७ रनमा पाँच विकेट गुमायो । फिल सल्ट ५, अंगकृष रघुवंशी १३, कप्तान श्रेयस ऐयर ६ र सुनिल नरिन ८ रनमा आउट भएका थिए ।

रिंकु सिंहले पनि मात्र ९ रन जोडे । वेंकटेश ऐअरले ७० र मनिष पाण्डेले ४२ रन बनाएपछि कोलकाताले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । नुवान तुषारा र जस्प्रित बुमराहले समान ३-३ विकेट लिए । कप्तान हार्दिक पाण्डियाले २ र पियुष चावलाले १ विकेट लिएका थिए ।

जवाफमा मुम्बई १८ ओभर ५ बलमा १ सय ४५ रनमा अल आउट भयो । मिचेल स्टार्कले चार विकेट लिएपछि मुम्बईको इनिङ कमजोर बनेको थियो । इशान किशन १३, नमन धिर ११, रोहित शर्मा ११, तिलक बर्मा ४ रनमा पवेलियन फर्किएका थिए । सुर्य कुमार यादवले ५६ र टिम डेविडले बनाएको २४ रन जितका लागि पर्याप्त भएन । तीन ओभर पाँच बल फालेका स्टार्कले ३३ रन खर्चिएर चार विकेट लिएका हुन् ।

बरुण चक्रवर्ती, सुनिल र आन्द्रे रसेलले समान २-२ विकेट लिए । योभन्दा अघि कोलकत्ताले सन् २०१२ मा मुम्बईलाई उसकै मैदानमा हराएको थियो । १० खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता प्ले अफ नजिक पुगेको छ । ११ खेलमा मात्र तीन जित हात पारेको मुम्बई भने लिग चरणबाटै बाहिरिने संघारमा छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.