नेपाल र वेस्ट इन्डिज 'ए'बीचको पाँचौं टी-ट्वेन्टी खेल आज

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र वेस्ट इन्डिज 'ए'बीचको पाँचौं टी-ट्वेन्टी खेल आज

काठमाडौं । नेपालले आज वेस्ट इन्डिज 'ए' सँग पाँचौं तथा अन्तिम टी-ट्वेन्टी खेल खेल्दैछ । यो खेल अघिनै सिरिज गुमाइसकेको घरेलु टोली आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ ।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा हुने खेल सवा १२ बजे सुरु हुनेछ । पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ । त्यसैले नेपाल अन्तिम खेलमा बलियो टोली वेस्ट इन्डिजलाई हराएर आईसीसी टी-ट्वेन्टी विश्वकपअघि मनोवल उच्च बनाउन चाहन्छ । 

जारी सिरिजमा कप्तान रोहित पौडेल बाहेक अन्य ब्याटर चल्न सकेका छैनन् । त्यसैले ब्याटरका लागि लयमा फर्किने यो अन्तिम अवसर हो । रोहित सिरिजका उच्च रन कर्ता हुन् । उनले तीन खेलमा एक शतकसहित २ सय ६५ रन बनाएका छन् ।

ओपनर कुशल भुर्तेल फर्ममा फर्कन सकिरहेका छैनन् । आशिफ शेख सुरुवाती तीन खेलमा बेन्चमा रहेका थिए । चौथो खेलमा ओपनिङ जोडीका रूपमा फर्किएका कुशल आशिफ सस्तैमा पवेलियन फर्किएका थिए । मिडल अर्डरमा पनि नेपाल कमजोर देखिएको थियो ।

बलिङ तर्फ विशेष गरी डेथ ओभरमा नेपालले ध्यान केन्द्रित गर्नेछ । वेस्ट इन्डिज भने लगातार चौथो जित हात पार्न चाहन्छ । नेपालमा सँग खेलिरहेको टिमबाट तीन खेलाडीले विश्वकप खेल्ने वेस्ट इन्डिजको स्क्वाडमा स्थान बनाएका छन् । रोस्टन चेज, जोनसन चाल्स र गुडाकेश मोटीलाई समेट्दै विश्वकपको सह-आयोजक वेस्ट इन्डिजले हिजो १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । 

 आजको खेल सँगै नेपालको घरेलु मैदानमा विश्वकप तयारी पूरा हुनेछ । मोन्टी देसाइको प्रशिक्षणमा रहेको नेपाल आज राति अमेरिका प्रस्थान गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.