रुस-युक्रेनबीचको द्वन्द्व समाधान गर्न रुस सकारात्मक

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुस-युक्रेनबीचको द्वन्द्व समाधान गर्न रुस सकारात्मक

काठमाडौं । विगत दुई वर्षदेखि चल्दै आएको रुस–युक्रेनबीचको द्वन्द्व समाधान गर्न रुस पुनः एक पटक सकारात्मक देखिएको छ । रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभाले शुक्रबार नियमित प्रेस बिफ्रिङमा विद्यमान अवस्था र रुसी सुरक्षालाई मध्यनजर गर्दै युक्रेनसँगको द्वन्द्व समाधानका लागि गम्भीर प्रस्तावहरुमा विचार गर्न रुस तयार भएको बताएकी हुन् ।

 तर, भविष्यमा युक्रेन सैन्य रूपमा तटस्थ रहने वाचासहित रुसी सुरक्षाको सर्त मान्नु पर्ने रुसको अडान कायमै रहेको उनले बताइन् । रुस वास्तविकता र आफ्नो सुरक्षा चासोमा आधारित गम्भीर प्रस्तावहरूको समीक्षा गर्न तयार रहेको बताउँदै ब्ल्याकमेल र धम्कीको भाषा आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पारिन् । 

विगतमा युद्धविरामको प्रस्तावलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अन्तिमसँग लड्ने तर सम्झौता नगर्ने अडानमा छन् । रुसविरुद्ध लड्न युक्रेनलाई पश्चिमा राष्ट्रहरुको निरन्तर सहयोग रही आएको हालै अमेरिकाले युक्रेनलाई रुससँग लड्न ६० अर्ब डलरभन्दा बढीको सहयोग गर्न विद्येयक आफ्नो दुवै सदनबाट पारित गरेको थियो ।

रुस सकारात्मक देखिएपछि पनि हिजो युक्रेनको दास्रो ठूलो सहर खार्किभमा रुसी सेनाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उक्त आक्रमणमा १२ आवासीय भवनमा क्षति पुगेको जनाएको छ । जसमध्ये तीन भवन पूर्ण रुपमा ध्वस्त भएको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.