वेस्ट इन्डिज 'ए' विरुद्ध बलियो ब्याटिङ गर्छौं : कप्तान रोहित पौडेल

मुख्य प्रशिक्षक देसाइले टिममा थपे ४ खेलाडी
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए' विरुद्ध बलियो ब्याटिङ गर्छौं : कप्तान रोहित पौडेल

काठमाडौं । नेपाल र वेस्टइन्डिज ए बीचको ५ खेलको टी-२० सिरिज शनिबार सुरु हुँदै छ । क्रिकेट स‌ंघ-क्यानले बिहीबार सार्वजनिक गरेको नेपाली टिममा प्रशिक्षक मोन्टी देशाइले शुक्रबार थप चार खेलाडीलाई बोलाएका छन् ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले दुई पटकको टी-२० विश्वकप विजेता वेस्टइन्डिजको ए टिम विरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । हालै ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खराब प्रदर्शन गर्दै स्वदेश फर्किएको नेपाल बलियो ब्याटिङ युनिटको रुपमा प्रस्तुत हुने कप्तान रोहितको भनाइ छ ।

मूख्य प्रशिक्षक मोन्टी देशाइले भने प्रिमियर कपका क्रममा नेपालले गरेको खराब प्रदर्शनको बचाउ गरेका छन् । उनले दुई खेलको नतिजाले नेपाली टिमको मूल्याङ्कन गर्न नमिल्ने भन्दै यस सिरिजमा नेपालले सुधारिएको प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे ।

अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० आई विश्वकप सुरु हुन एक माहिना र केही दिन मात्र बाँकी रहँदा दुवै टोली विश्वकपको तयारीमा छन् । सिरिजको लागि घोषणा गरिएको टिममा लोकेश बम, कमल सिंह ऐरी, सागर ढकाल र विनोद भण्डारी थपिएका हुन्। 

अब नेपाली टोली २० सदस्यीय भएको छ । दुई टोलीबीचको दोस्रो खेल आगामी आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ । सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन, कान्तिपुर म्याक्स र कान्तिपुर टेलिभिजनका डिजिटल प्ल्याटर्फमबाट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.