गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध सर्वोच्चमा रिट

ठूलो दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश दिन कांग्रेसका सुरेन्द्र पाण्डेको माग
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले ३० जना प्रदेशसभा सदस्यकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्नुभएको छ । पाण्डेले संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाइ स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गर्नुभएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले गत आइतबार राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० मत पर्दा पनि सभामुख धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । तर प्रदेशसभाका सभामुखले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गर्नुभएको थियो ।

उहाँले बराबरी भएको अवस्थामा सभामुखले मत दिन पाउने अधिकारसमेतको ख्याल गर्न भन्दै मुख्यमन्त्री अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गर्नु भएको थियो । तर ३० जनाको मतलाई विश्वासको मत पाएको भन्न नमिल्ने भन्दै कांग्रेस सर्वोच्च अदालत पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.